धर्नारत आदिवासी जनजातिले प्रहरी कार्यालयको मुलगेटमा प्रर्दशन गरेका छन् ।
ग्याल्पो लोसारको अवसरमो हिलेबजार निवासी पासाङ शेर्पाको घरमा गोरु काट्दै गरेको अवस्थामा शेर्पासहित खाँदबारी नपा-१ संखुवासभा स्थायी घर भई हिलेमा बस्दै आएका ३८ वषर्ीय प्रेम राई र छिन्नामखु-८ का भोजपुरका ६६ वषर्ीय सुम्बा शेर्पालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
प्रहरी चौकी हिलेको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि रिहा गराउन आदिवासी जनजाति महासंघका केन्दि्रय सदस्य सञ्जयसन्तोषी राई, महासंघका पुर्व जिल्ला अध्यक्ष पार्वती राई र नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष सुन्दरबाबु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरीले पक्राउ परेकालाई रिहा गर्न नमानेपछि जनजाति नेताहरु रातभर प्रहरी कार्यालय परिसरमा धर्ना बसेका थिए । विनाशर्त रिहाईको माग गर्दै धर्ना बसेका तीनजनाले आइतबार विहान पनि धर्ना नतोडेपछि प्रहरीले हटाएको थियो ।
धर्नामा बसेकालाई जबरजस्ती बाहिर निकालेपछि आदिवासी जनजातिहरु आक्रोशित भई प्रहरी कार्यालयको मुलगेटमा धर्ना दिएका छन् । रिहा नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
मुलुक धर्मनिरपेक्ष भइसकेको अवस्थामा शेर्पाहरुले गोरु काटेर चाड मनाउनु उनीहरुको अधिकार भएको आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य सञ्जयसन्तोषी राईले बताए ।
प्रहरीले भने मुलुक धर्मनिरपेक्ष राष्ट्र भएपनि चौपाया सम्बन्धी मुलुकी ऐनको १ नं. महलमा गाई, गोरु लगायतका चौपाया काट्न नहुने भनिएको जनाएको छ । गाई गोरु काटिए मुलुकी ऐनको ११ नं. महलमा सजाय हुने ब्यवस्था भएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बासुदेव चौधरीले बताए ।
आदिवासी जनजातिसँग भएको बार्तामा पक्राउमध्ये पासाङ र सुम्बालाई तत्काल रिहा गर्ने र प्रेमलाई कानुनी प्रक्रिया पुर्याएर केहीमा रिहा गर्ने भन्दा आदिवासी जनजातिका प्रतिनिधिले अस्वीकार गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
आदिवासी जनजाति महासंघका प्रतिनिधिले भने एउटै घटनामा तीनजनालाई पक्राउ गरेकाले उनीहरुको विनाशर्त रिहाई नभएसम्म धर्ना नछोड्ने अडान लिदै आएका छन् । आफूहरुको मागको प्रशासनले वेवास्ता गरे आन्दोलन जारी राख्ने आदिवासी जनजाति महासंघ धनकुटाकी पुर्व अध्यक्ष पार्वती राईले बताइन् ।
- onlinekhabar
No comments:
Post a Comment