Sunday, March 23, 2014

सटरबाट सडकमा पुगिन् केशरमाया

kesharmaya-2९ चैत, काठमाडौं । सुन्दर भविष्यको सपना देख्ने रहर कसलाई पो हुँदैन र ? सुखसयलमा बस्ने, ऐस आराम गर्ने र मीठो निद्रासहित पलङमा सुत्ने सपना देख्ने नेपाली अझै लाखौं छन् । रात दिन मेहनेत गर्दा पनि दुईछाक टार्न हम्मेहम्मे पर्ने नेपालीहरु अहिले पनि देशका कुना काप्चादेखि राजधानीका गल्लीमा पनि भौतारिइरहेका भेटिन्छन् । उनको नाम हो, केशरमाया खड्का । उमेरले ५० काटेर कपाल फुल्न थालेको छ । 

१५ वर्षअघि वैवाहिक बन्धनमा बाँधिदा केशरमायाले पनि अन्य नेपाली चेलीजस्तै सुन्दर भविष्यको कल्पना गरेकी थिइन् । झापाको ग्रामीण बस्तीमा हुर्केकी उनले खासै ठूला सपना देखेकी थिइनन् । देखेकी थिइन् त केबल, बुढेसकालसम्म पतिको न्यानो माया पाइयोस्, पति-पत्नी मिलेर छोराछोरी हुर्काउन सकियोस् । र, सोचेकी थिइन्, छोछाछोरीलाई बिरालाले च्यापेझैं डेरा सारिरहनु नपरोस् । आकाशका जुनतारा छल्ने एउटा छाप्रो होस्, जहाँ हिउँदे शीत र वर्षे झरी छलेर छोराछोरीलाई न्यानो माया दिन सकियोस् । 

झापाको दमकका बीरबहादुर खड्कासँग लगनगाँठो कसेपछि १५ वर्षअघि सपनाको सहर काठमाडौं छिरेकी थिइन्, केशरमाया । माइतीको समेत साथ पाएपछि पति-पत्नी मिलेर उनीहरुले राजधानीमा जीन्दगीको रथ दौडाउन थालेका थिए । काठमाडौं छिरेपछि उनीहरुले काठमाडौंलाई आफूहरुले सोचेजस्तो सजिलो पाएनन् । गाउँमा हुँदा साँचेका धेरै सपना काठमाडौं सहरले तुहाइदियो । तर, पनि दुबैले हिम्मत हारेनन् । काठमाडौंको जडिबुटीमा किराना पसल थालेपछि जीवनको रथ गुडाउन केही सहज भएको थियो । 

एकबाट दुई भएर काठमाडौ छिरेका उनीहरु केही वर्षमै दुईबाट चार भए । पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी जन्मेपछि जडिबुटीमा लिइएको सानो कोठामा ठूलो खुसी प्रवेश भयो । जति कमाए पनि बचत गर्न नसक्ने काठमाडौं सहरमा उनीहरुलाई किराना पसलबाट दुःखसुख गुजारा चलाउन समस्या थिएन । पति बीरबहादुरले आफूले जानेको काम भ्याएसम्म गरिरहेकै थिए । दुईबाट चार भएका उनीहरुलाई खर्च बढेपनि भोकभोकै बस्नुपर्ने अवस्था भने थिएन । दुःख सुखबीच हुर्काएका छोराछोरीको शिक्षादीक्षाको दायित्व पूरा गर्नुपर्ने बाध्यता छँदैथियो । 

इष्टमित्रमाझ राम्रै छाप छोडेका बीरबहादुरले छोरालाई कोटेश्वरस्थित हिमायल बोर्डिङमा भर्ना गरिदिए भने छोरीलाई झापामै राखेका थिए । काठमाडौं छिरेको १३ वर्षमा केशरमायाले साँचेका सपना पूरा हुन अझै बाँकी थिए । टुट्दै फुट्दै गरेका सपनालाई संगाल्दै राखेकी उनमा काठमाडौंका डाँडापाखामा भएपनि एउटा छाप्रो हाल्ने सपना बाँकी नै थियो । ‘एकले थुकी सुकी, सयले थुकी नदी’ भनेझैं उनलेे रातदिनको मेहनेतबाट जोरजाम गरेको पैसाले छाप्रोको सपना विपना बन्ने आशाको दियो बाल्न थालिसकेकी थिइन् । 

यसरी भयो सपनामा बज्रपात 
kesharmaya-1पति बीरबहादुरसँगको जीवनयात्रालाई अघि बढाइरहेको अवस्थामा ०६८ साल केशरमायाका लागि कालो वर्ष बन्न पुग्यो । हेर्दा खाइलाग्दा र हट्टाकट्टा देखिने पति एककाएक थला परे । त्यसअघि सानोतिनो विरामले ओछ्यान नपर्ने बीरबहादुर ५३ वर्षको उमेरमा आइपुग्दा नराम्ररी ओछ्यान परे ।
एकाएक सिकिस्त बनेका पतिलाई केशरमायाले ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा पुर्‍याइन् । ठूलो रोग नलागेको आशमा निको पारेर पतिलाई घर फर्काउन अस्पताल पुर्‍याएकी केशरमाया डाक्टरको कुरा सुनेर काँचको चुरा फुटे झैं फुट्न पुगिन् । डाक्टरले पतिको सबै शरीर चेकजाँच गरेपछि दुबै मृगौलाले काम गर्न छोडेकाले मृगौलाको उपचार गर्नुपर्ने सुझाए । 

डाक्टरको कुरा सुनेर आधामरो भएकी केशरमायाले पतिलाई बचाउन काठमाडौंमा छाप्रो हाल्न साँचेको पैसाको कन्तुर फोर्नुपर्ने भयो । दुबै मृगौलाले काम नगर्ने पक्का भएपछि पतिलाई अस्पतालमै राखेर डाइलासिस गर्नुपर्ने भयो । कन्तुरमा राखेको दुई लाख र नातागोताले दिएको एक लाख रुपैयाँ पतिको मृगौला डाइलासिस गर्दै सकियो । पति थलापरेसँगै केशरमायाका आधा सपना पनि भाँचिइसकेका थिए । 

मृगौलाले काम गर्न नसक्ने भएपछि उपचार खर्च लाखौं लाग्ने सुनेकी उनले पशुपतिनाथलाई पुर्कादै पतिको स्वास्थ्यलाभको कामना गरिरहिन् । भएभरको जायजेथा पतिको उपचारमा सिध्याएपछि केशरमायाले पनि हार मानिन् । एकातिर दुई दुईजना छोराछोरीको सिंगो भविष्य पहाडझैँ ठिङ्ग उभिएको छ भने अर्कातिर पतिले जीवनको भिख मागिरहेका छन् । केशरमाया भने सयौं चोट खाएर लडेको रुख झैं भएकी छन् । पतिको मृगौलाको उपचारका लागि डाइलासिस गर्दा गर्दै सबै सम्पत्ति सकेपछि उनीसँग भगवान पुकार्नेबाहेक अर्को विकल्प थिएन । 

सरकारी सहयोग नाममात्रको 
मृगौलाको उपचारका लागि सरकारले सहयोग गर्ने सुनेकी केशरमाया झापाको दमकबाट नगरपालिकाको सिफारिस ल्याएर स्वास्थ्य मन्त्रालयमा पुगिन् । स्वास्थ्य मन्त्रालयबाट एक सरकारी अस्पतालमा सिफारिस गरेपछि सहुलियतमा उपचार पाउने आशले पुगेकी उनलाई दैलोमा नपुग्दै ठेस लाग्यो । 

सबै कागजपत्र लिएर अस्पताल पुगें, तर अस्पतालले तीन वर्षपछि मात्र पालो आउँछ भनेर फर्कायो’, केशरमायाले भनिन्, ‘अस्पतालले तीन वर्षपछि पालो आउँछ भनेको ६ महिनापछि मेरा पतिले संसार छोडेर जानुभयो ।’ गरिब तथा निम्नवर्गीय परिवारका सदस्यको मृगौला उपचारका लागि सरकारले तीन लाखसम्म सहुलियत दिने सुनेकी केशरमायालाई त्यो सहयोग देखाउने दाँत जस्तोमात्र लाग्छ । 

सरकारले सहयोग देको भए मेरा पति एक दुई वर्ष अरु बाँच्थे कि’, केशरमायाले सुनाइन्, ‘ढिलोछिटो त जानैपर्छ तर मेरा पतिले उपचार नपाई मर्दा भने गरिब भएर जन्मनुजस्तो धिक्कार केही रहेनछ ।’ मृगौला काम नलाग्ने भएको एक वर्षमै पतिले संसार छोडेर गएपछि दुबै छोरछोरीको जिम्मा उनको काँधमा आयो । हिमालय बोर्डिङमा पढ्दै गरेका छोराको शुल्क उनले रोइकाराई गरेर छुट गराएकी छन् । यो वर्ष उनका छोराले एसएसली दिँदैछन् भने छोरीले पढेकी छैनन् । पतिसँग देखेका सपना केशरमाया अहिले छोराछोरीमा देख्न थालेकी छन् । 

सटरबाट सडकमा 
पति जीवित हुन्जेल जडिबुटीमा सटर खोलेर व्यापार गरिरहेकी केशरमाया अहिले तीनकुनेस्थित बैदेशिक रोजगार विभाग अगाडि भेटिन्छिन् । घामपानी नछल्ने त्रिपाल मुनि भत्किसकेको एउटा थोत्रे दराजमा उनले चियादेखि पानीपुरी र चटपटेसम्म बेच्न राखेकी छन् । श्रम स्वीकृतिका लागि विदेश जाने युवाहरु देश छाड्ने चिन्ताले पिरोलिइएका हुन्छन् भने उनीचाँहि छोराछोरीको भविष्य सम्झेर अत्तालिन्छिन् । ‘यहाँ दिनमा एक दुईसय मरितरी कमाइ हुन्छ, यतिले भए पनि छोराछोरीको पेट भर्नैपर्‍यो’, केशरमायाले भनिन्, ‘यहाँ आएर चिया, चटपटे बेचिएन भने सबैजना भोकै परिन्छ ।’ 

केशरमायाको दैनिकी 
केशरमाया बिहान ६ बजे नै वैदेशिक रोजगार विभाग अगाडिको वागमती पूल नजिकै आइपुग्छिन् । कोठा र्फकने बेला कहिलेकाहीँ साँझको ७ बज्छ । बिहानै कोठा छाडेर हिँड्ने भएकाले छोराछोरी आफैंले खाना पकाउने गरेका छन् । ’सधैं आँसुमा डुबेर नसकिने रहेछ, पति गए पनि छोराछोरीको भविष्य बनाउन लागेकी छु’, केशरमायाले भनिन्, ‘पति हुँदासम्म सटर लिएर बसेकी थिएँ, अहिले सडकमा बसेर भए पनि जीवन धान्दैछु ।’ पतिको निधन भएपछि पत्नीले सेतो लुगा लगाएर शोकमै जीवन बिताउनुपर्ने कुरालाई नकार्दै केशरमायाले पतिको वाषिर्की सकेपछि सेतो पहिरन फ्यालिन् । 

रातो चुरा र लुगा सबैले लाउन थालेपछि मैले पनि लाउन थालेकी हुँ’ केशरमायाले भनिन्, ‘छोराछोरीका लागि आफैंले अहिले पतिको भूमिका निभाइरहेकी छु, सेतो लुगा लगाएर बस्ने हो भने म यसरी सडकसम्म निस्कन सक्ने थिइन ।’ एउटा भत्किसकेको थोत्रे दराजलाई आफूसँगै छोराछोरीको सपना पूरा गर्ने माध्यम बनाएकी केशरमाया अहिले अनुहारमा हाँसो फर्काउने कोशिसमा छिन् । ‘अहिलेसम्म त हिम्मत हारेकी छैन, भोलि के हुन्छ ?’ उनले भनिन्, ‘गरिबले भोकभोकै र रोग लागेपछि उपचार नपाई मर्नुपर्ने यो समाजमा छोराछोरीलाई हरेक कुरामा सक्षम बनाएर मात्रै विदा लिन्छु 

No comments:

Post a Comment