Friday, March 7, 2014

लामीडाँडाका लागि उडेको विमान केही मीनेटमै आकस्मिक अवतरण

२३ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन-एसबीयु ट्वीनअटर जहाज उडेको केही समयमै आपतकालीन अवतरण गरिएको छ । काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि दिउँसो १ बजे उडेको जहाजको इञ्जिनमा खराबी देखिएपछि केही मीनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै फर्काएर आपतकालीन अवतरण गरिएको हो । 

१५ जना यात्रु बोकेर उडेको जहाज केहीबेरमै अवतरण गरिएको थियो । जहाजमा सवार यात्रु तथा चालक दलका सबै सदस्यहरु सकुशल रहेको निगमले जानकारी दिएको छ । जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको बताइएको छ । सकिए निगमका आन्तरिक उडान जहाज ग्राउन्डेड भएसँगै निगमको आन्तरिक उडान अब ठप्प भएको छ । निगमले पछिल्लो दिनमा एउटा जहाजबाट आन्तरिक उडान भर्दै आएको थियो । ‘

इञ्जिनमा समस्या देखिएपछि जहाज आपतकालीन अवतरण भएको छ’ निगमका प्रवक्ता रामहरी शर्माले भने- ‘अब केही दिनलाई हाम्रो आन्तरिक उडान ठप्प भयो ।’ नेपालमा जहाजको इञ्जिन मर्मत गर्ने सुविधा नभएको हुँदा मर्मतका लागि विदेश लैजानुपर्छ । विदेशमा लगेर इञ्जिन मर्मत गर्न लामो समय लाग्ने हुँदा तत्काल निगमले आन्तरिक उडान भर्न सक्ने अवस्था छैन् । 

आज आपतकालीन अवतरण गरिएको जहाज यस अघि पनि पटक-पटक ग्राउन्डेड भइसकेको जहाज हो । ‘हाम्रा इञ्जिनियरहरुले इञ्जिनमा कस्तो समस्या आएको रहेछ हेर्छन्, अनि उनीहरुको सुझाव अनुसार मर्मतका लागी काम अगाडी बढाउँछौं’ प्रवक्ता शर्माले भने- ‘नेपालमा मर्मत गर्ने सुविधा छैन, ठूलो समस्या आएको रहेछ भने विदेश पठाउनुको विकल्प छैन् ।’ कुनै समय १० वटा ट्वीनअटर मार्फत आन्तरिक उडान भर्ने निगम अहिले जहाजविहीन बन्न पुगेको छ । निगमका ६ वटा जहाज दुर्घटनामा परेर नष्ट भइसकेका छन् । 

निगमको एउटा जहाज ताराले भाडामा लिएर उडाइरहेको छ भने तीनवटा जहाज ग्राउन्डेड भएका छन् । यसअघि ग्राउन्डेड भएका जहाजको इञ्जिन फेर्नका लागि निगमले टेन्डर आहृवान गरिसकेको छ । उपयुक्त कम्पनी छनौट गरी इञ्जिन साटेर अप्रील १५ सम्म ग्राउन्डेड जहाज उडाउने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । निगमको एउटा ट्वीनअटर जहाज केही दिन अगाडी अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा चालक दलका सदस्यसहित सबै यात्रुको निधन भएको थियो । 

प्रवक्ता शर्माका अनुसार सन् १९७३ सालमा लुक्लामा पहिलोपटक ट्वीनअटर जहाज दुर्घटनामा परेको थियो । त्यसपछि सन् १९८४ मा तुम्लिङटर विमानस्थलबाट उडेको जहाज लकलेटी डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सन् १९९५ मा राजधानीकै गुहेश्वरी मन्दिर परिसरमा अर्को ट्वीनअटर दुर्घटनामा पर्‍यो । सन् २००० मा बझाङमा, सन् २०१२ मा डोल्पामा, सन् २०१३ मा जोमसोममा निगमको जहाज दुर्घटनामा परेर नष्ट भएका हुन् । 

No comments:

Post a Comment