Thursday, March 6, 2014

कतारबाट यस्तो शिक्षा लिएर फर्किएँ : प्रचण्ड

२२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अरबको भूमिमा रहेका करिब २५ लाख नेपाली युवाहरुको समस्यालाई सम्बोधन नगरी अब नेपालको राजनीति नचल्ने बताएका छन् । यसैसाता कतारको भ्रमण गरी त्यहाँका प्रधानमन्त्रीलाईसमेत भेटी नेपाली कामदारको सुरक्षा र सुविधाबारे आवाज उठाएर फर्केका प्रचण्डले विहीबार अनलाइनखबरसँग कुराकानी गर्दै भने- ‘म कतार गएको कुरा त एउटा सन्दर्भ मात्रै हो, तर विदेशमा रहेका नेपालीको विषयलाई दीर्घकालीन महत्वमा हिसाबले हेर्नुपर्छ ।’
 parchanda  (4)

प्रचण्डले कतार भ्रमणको अनुभव सुनाउँदै अनलाइनखबरसँग भने- ‘नेपालको राजनीतिक नेतृत्वले अब गल्फ कन्ट्रीमा गएका र विश्वभरि छरिएका नेपालीहरुको हित र उनीहरुको सुरक्षा, सुविधा र उनीहरुले नेपालमा संस्थागत ढंगले गर्न सक्ने योगदानलाई ध्यान नदिइकन अब नेपालको राजनीति चल्दैन भन्ने शिक्षा लिएर आएको छु ।’ प्रचण्डकै शब्दमा कतार भ्रमणको अनुभव- विदेशमा रहेका नेपालीको विषयलाई हाम्रो पार्टीले र अध्यक्षका हिसाबले मैले चाहिँ अलिकति रणनीतिक हिसावले दीर्घकालीन महत्वको र सैद्धान्तिक रुपले नै हेर्नुपर्ने विषय ठानेको छु । 

म कतार गएको कुरा त एउटा निमित्त कारण वा सन्दर्भजस्तो मात्रै भयो । नेपालमा युवाहरुको ठूलो शक्ति अहिले विदेशमा छ । गल्फ कन्ट्रीहरुमा मात्रै २५ लाख हाराहारीमा पुगेको देखिन्छ । कतारमा पाँच लाख छन् । साउदी अरबमा ७/८ लाख छन् । दुबई लगायत सबैतिर हेर्नुभयो भने २५ लाख युवाहरु त्यहाँ छन् । मलेसिया, युरोप र अन्य मुलुकतिर हेर्‍यो भने ५० लाखको हाराहारीमा युवाहरुको सक्रिय जनशक्ति विदेशमा छ । यो जनशक्तिलाई सम्वोधन नगरिकन अब नेपालको राजनीतिका परिवर्तन, नेपालको आर्थिक जीवन र अर्थतन्त्रको कल्पना गर्न नसकिने भइसक्यो । 

त्यसकारण यसलाई विदेशमा रहेका केही नेपालीहरुको काम भनेर हल्कारुपमा लिन हुने स्थिति छैन । गल्फ कन्ट्रीको स्थिति युरोप, अमेरिका वा क्यानडाको जस्तो होइन । अमेरिका, क्यानडा जाने नेपालीहरु गि्रनकार्ड लिने, उतै बस्ने र घरजम गर्नेतिर जान्छन् । गल्फ कन्ट्रीमा दुई वर्षको भिसा हुन्छ, उनीहरु फर्किएर आउनैपर्छ । अस्ति कतारमा मार्मिक ढंगले नेपालीहरुले भने, आम्रो त यहाँ लास राख्ने ठाउँपनि छैन, उहीँ नेपालमै लानैपर्छ । भनेपछि उनीहरु विशद्ध नेपाली नै हुन् । 

एनआरएन भन्न मिल्नेखालको पनि छैन उनीहरुको स्थिति । उनीहरु वहीँ घर बनाएर बस्ने स्थितिमै छैनन् । भनेपछि यी २५ लाख युवाहरुलाई राम्रोसँग नहेरिकन, उनीहरुको समस्या र दुःख पीडालाई सम्वोधन नगरिकन अब नेपालमा राजनीतिक र आर्थिक सम्वृद्धिको कल्पना कसैले भन्छ भने त्यो भ्रममात्रै हुन्छ । अहिले म कतार जाँदा अझ नजिकबाट गल्फ कन्ट्रीहरुमा रहेका नेपालीहरुको समस्या, त्यहाँको पीडा समान किसिमको छ र त्यसलाई कुनै पनि राजनीतिक नेतृत्वले गम्भीर ढंगले लियो भने २५ लाख नेपालीको साझा समस्यालाई सम्वोधन गरिएको हुँदोहरेछ । 

मेरा लागि यो सिक्ने अवसर पनि भयो । त्यहाँ रहेका नेपालीहरुको दुःख कष्ट कस्तो रहेछ भन्ने पनि र त्यहाँको सरकारले कसरी लिँदोरहेछ भन्ने पनि सिक्ने अवसर भयो । सुरुमा मेरो कार्यक्रम सुनिश्चित भैसकेको थिएन । पछि कतारका प्रधानमन्त्री, विदेशमन्त्री र श्रम मन्त्रीसँग भेट भयो र समग्रमा कुराकानी भयो । मैले नेपालीहरुको सुरक्षाका विषयमा कुरा गरें । ठूलो संख्यामा कोही दुर्घटनामा त कोही हृदयाघात भएर बित्ने गरेको हँदा उनीहरुको सुरक्षा र सुविधाको विषयमा नै बढी फोकस गरेर मैले कुरा गरें । 

त्यो म्यासेज पनि गयो । गहिरो अनुभूतिको अर्को पाटो मलाई अर्को बडो गहिरो अनुभूतिको पाटो के भयो भने हिजो जनमुक्ति सेनाका धेरै कमान्डर र योद्धाहरु त्यहाँ होटलमा रहेछन् । शहिद परिवार, बेपत्ता योद्धाका परिवारका सदस्यहरु विभिन्न होटलमा, कन्स्ट्रक्सन साइटहरुमा धेरै देखिए । जहाँ म बसेको थिएँ, त्यही होटलमा एकजना गोरखाका सहीद परिवारका सदस्य बडो इमान्दार सोझो युवा हुनुहुँदोरहेछ । मलाई भेट्न आउनुभयो । उहाँले भन्नुभयो, म सहीद परिवार पनि हो, हिजो युद्धमा सहभागी भएको योद्धा पनि हो । 

उहाँले मलाई नै के भन्नुभयो भने कामरेड, तपाईहरु यताउता नधर्मराउनुहोला, हामी छौं । अहिले चुनाव हारियो भन्दैमा मिसन नछोड्नुहोला । हामी फेरि जरुरी पर्छ भने हामी ज्यान दिन आउँछौं । यसरी त्यहाँ गएर पनि दिमागमा नेपाली क्रान्ति र नेपालको परिवर्तनप्रति त्याग तपस्या र बलिदानकै चिन्ता त्यहाँ छ भन्ने मलाई गहिरो अनुभूति पनि भयो । त्यसकारण नेपालको राजनीतिक नेतृत्वले अब गल्फ कन्ट्रीमा गएका र विश्वभरि छरिएका नेपालीहरुको हित र उनीहरुको सुरक्षा, सुविधा र उनीहरुले नेपालमा संस्थागत ढंगले गर्न सक्ने योगदानलाई ध्यान नदिइकन अब नेपालको राजनीति चल्दैन भन्ने शिक्षा लिएर आएको छु । 

No comments:

Post a Comment