Monday, March 3, 2014

कम्बोडिया जान खोज्दा ३८ युवा फसे

काठमाडौं- एसियाली मुलुकमध्ये नेपाल जस्तै गरिबको सूचीमा रहेको कम्बोडियामा डेढ लाख तलब पाउने आसमा दलालको भर पर्दा ३८ युवाले तीन करोड रुपैयाँ गुमाएका छन्। अशोक राई, रामबहादुर कार्की र ज्याक्सन नाम गरेका दलालले कम्बोडियामा आकर्षक तलब र सुविधामा काम दिलाइदिने भन्दै ३८ युवाबाट जनही ८ लाखका दरले तीन करोड ४ लाख रुपैयाँ उठाएका थिए। दलालले भियतनाम पुर्यािएर अलपत्र पारेपछि आफूहरु ठगिएको चाल पाएको बाग्लुङ बुर्तिबाङका बलबहादुर भण्डारीले नागरिकलाई बताए। 

दलालले कम्बोडियाको पाँचतारे होटलमा बाउन्सरको काममा डेढ लाख रुपैयाँ तलब पाइने भन्दै प्रत्येक युवाबाट ८ लाख उठाएको उनलेे बताए। ठगिने ३८ मध्ये २५ जना बाग्लुङको एउटै गाउँ बुर्तिबाङका युवा हुन्। पीडित भण्डारीका अनुसार नेपालबाट भारत हुँदै कम्बोडिया जान हिँडेका उनीहरुलाई भियतनाम पुर्यािएपछि दलाल ट्रान्जिट भिसा चाहिने भन्दै फरार भएका थिए। ‘हामीसँग भिजिट भिसा थियो, दलालहरुले भियतनाममा थप ट्रान्जिट भिसा लिनुपर्छ भन्दै छोडेर गए,’ भण्डारीले भने ‘त्यसपछि उनीहरुलेे मोबाइल अफ गरे।’ 

दलाल फरार भएपछि भियतनाममा आफूहरु एक सातासम्म अलपत्र परेको उनले बताए। ३८ मध्ये ३२ युवा तीन दिनअघि काठमाडौं आइपुगेका छन्। बाँकी ६ जना अझै भियतनाममा अलपत्र परेको भण्डारीले जानकारी दिए। नेपालबाट ज्याक्सनले काम मिलाएर राई र कार्कीसँगै कम्बोडिया जाँदा भियतनाम पुर्यारएर भागेको उनले बताए। ‘डेढ लाख तलब पाइन्छ, ८ घन्टा काम गरे हुन्छ भनेपछि हामी आकर्षित भयौं, त्यसमाथि कामको ग्यारेन्टी लिँदै छोड्न पनि आफैं जाने भनेपछि सबैले पैसा बुझाइयो, अहिले दलाल फरार छन्,’ उनले भने। दलालको पछि लागेर अवैधानिक बाटो हुँदै भियतनाम पुगेका युवामध्ये ३२ जना नेपालबाट पैसा मगाएर फर्केका हुन्। 

बाँकी ६ जनाले रकम जुटाउन नसक्दा भियतनाममै अलपत्र परेको भण्डारीले जानकारी दिए। ‘हामी भियतनाममा अलपत्र परेको थाहा भएपछि नेपालमा परिवारलाई खबर गरेर पैसा मगाई ३ दिनअघि काठमाडौं आएका हौं,’ उनले भने ‘भियतनाममा रहेका साथीहरुको अवस्था नाजुक बन्दै गएको छ।’ दलालहरुले सुरुमा चितवनका दिपक आचार्यलाई कम्बोडियाको भिसा निकालेर कामको नक्कली कागजपत्र देखाई अरुलाई पनि उनीसँगै काममा लगाइदिनेे भन्दै पैसा उठाएको भण्डारीले बताए। ‘आचार्यको भिसा र कागजपत्र देखेपछि विश्वास गर्न बाध्य भइयो। 

तर उनीहरुको नियत नै ठग्ने रहेछ, पैसा पाएपछि अलपत्र पारे,’ उनले भने। ठगिएकामध्ये अधिकांशले ऋण खोजेर दलाललाई पैसा बुझाएको बताए। नेपाल फर्केका युवाले दलालको खोजेर कारबाही गर्न माग गर्दै वैदेशिक रोजगार विभाग र विभिन्न प्रहरी चौकीमा उजुरी दिएका छन्। पैसा फसाएका बाग्लुङकै सोमबहादुर अदईले ठगेर भाग्ने दलाल खोज्न सम्बन्धित निकायमा उजुरी दिएको बताए। ‘हामीले प्रहरीदेखि विभागसम्म उजुरी दिएका छौं, उनले भने, ‘अब श्रम मन्त्री भेटेर समस्या राख्छौं।’ 

नेपालजस्तै प्रत्येक वर्ष ठूलो संख्यामा कम्बोडियाली कामको खोजीमा अन्य मुलुक जाने गर्छन्। वैदेशिक रोजगार विभागले पटकपटक स्वीकृति लिएको म्यानपावर कम्पनीबाहेक अरुसँग वैदेशिक रोजगारीसम्बन्धी काम नगर्न आग्रह गर्दै आएको छ। तर, पनि अवैधानिक रुपमा पैसा दिने, लिने र भारतको बाटो हुँदै विभिन्न मुलुक जाने क्रम रोकिएको छैन। प्रमाणका अभावले यस्ता दलाललाई कारबाही गर्न गाह्रो हुने विभाग अधिकारी बताउँछन्।

No comments:

Post a Comment