Monday, March 10, 2014

यस्तो छ सिनामंगलका सुकुम्बासीको बेदना

Agni Pidit 4
                  जलेको बस्तीबाट हिँड्दै एक बालक 
ज्ञानेन्द्र खड्का 
२६ फागुन, काठमाडौं । पूजापाठ गरेर जीवन धान्दै आएका अजय आइतबार १२ बजे अघि नै भगवानको दर्शनका लागि पशुपति गएका थिए । ईश्वरलाई पुकारेर पेट भर्दै आएका उनी पशुपतिमा दर्शन गर्न नपाउँदै फोन बज्यो, ‘हेल्लो, बस्ती त जलेर खाक भयो, तुरुन्त बस्तीमा आउनू’, बस्ती जलेको सुन्नेबित्तिकै उनी पूजाका सामान सडकमै फ्यालेर सिनामंगलस्थित आफ्नो बस्तीमा हान्निए । वर्षेनी जन्मेका ४ जना छोराछोरीका बाबु उनी दौडेर बस्तीमा पुग्दा छाप्रो खरानीमा परिणत भइसकेको थियो । ’अब हामीलार्इ मार्ने तपाईंहरुले नै हो, बचाउने पनि तपाईंहरुले नै’, २९ वर्षीय अजय गिरी भक्कानिए, ‘हाम्रो त हजुर, अब केही पनि बचेन, एकसरो लुगाबाहेक केही छैन ।’ बस्ती जलेर खरानी भएपछि सुत्केरीदेखि साना बालबच्चा र वृद्धवृद्धाको बिजोग भएको छ । १० दिनकी सुत्केरी अञ्जना गिरीले चिसो भुईंमा ओच्छ्याइएको त्रिपालमा सुतेर रात बिताइन् । ‘राम्रो ठाउँ खोज्न कहाँ जानु, छाप्रोसँगै खानेकुरा पनि जलिगो, हिजोदेखि पेटभरि खान पाएकी छैन, अञ्जनाले सुनाइन्, ‘दयालुहरुले दिएको थोरै खानेकुरा पेटमा परेको छ, यो दूधे बच्चो बोकेर कहाँ जाऊँ अब ।’ 

Agni Pidit 2
          १० दिनकी सुत्केरी अन्जना गिरी र नाबालक छोरो 

काठ, बाँस र प्लास्टिकले बनेको बस्ती आइतबार दिउँसो १ बजेर १० मिनेटमा बिजुली आउनेवित्तिकै सर्ट भएर खरानीमा परिणत भयो । आगोले बस्ती सकिएपछि सिनामंगलमा रहेको नोबेल कलेज, मिरमिरे युवा क्लब र केही दयालुहरुले दिएका त्रिपालमुनि उनीहरुले रात गुजारे । सुकुम्बासी बस्तीका अधिकांश दक्षिण भारतबाट वर्षौं अघि नेपाल पसेका हुन् । ‘छोराछोरीलाई दयालुले जोगाइदिएछन्, छाप्रो सबै जलेर खरानी भयो, केही पनि बचे, अब हामी कहाँ जाने’ अजयले सुनाए, ‘मरे पनि बाँचे पनि अब हाम्रो जाने ठाउँ कहीँ छैन ।’ नेपाललाई दोस्रो घर बनाएका यहाँका बासिन्दा अब भविश्य के हुने हो भन्ने पिरलोमा छन् । आगो लागेको कुरा सोध्नेवित्तिकै सबैका आँखा रसाउँछन् । ‘अब हामी कहाँ जानु ? भारत भन्दा हामीलाई यही ठाउँ प्यारो छ’, ६५ वर्षीया चन्द्रमा गिरीले सुनाइन्, ‘हिजोबाट रुँदा रुँदा आँसु आउन छोड्यो, हामीलाई बचाउने मार्ने जिम्मा तपाइँहरुको हो, हामी निम्छराले कहाँ गएर रात बिताउनु ?’ 

छाक टार्ने मेलो 
यहाँ बस्नेमध्ये केहीले भिक्षा मागेर छाक टार्छन् भने केहीले पूजापाठ गर्दै दुई छाक टार्छन् । बाँकीले भने कवाडी संकलन गरे जीवन धानिरहेका थिए । ‘हामीले रात दिन भगवानको पूजा गर्दैं हिड्यौ, तर तिनै भगवानलाई के मा चित्त नबुझेर हाम्रो बस्ती रित्याए ?, बस्तीका रमेश गिरीले भने, ‘हामी त पखेंटा काटेर फ्याँकेका चरीजस्तै भयौं, हाम्रो जीवन बचाइदिनुस्, देश फर्कन पनि केही छैन, एकसरो लुगाबाहेक 

Agni Pidit 1
           छाप्रो जलेपछि विक्षिप्त बनेका अजय गिरी रूँदै 

स्थानीय दुईजनालाई एक छाप्रोको मासिक एक हजार भाडा तिरेर बसेका उनीहरु अहिले साहुजीको सहयोगको आशमा छन् । ‘साहुजीले यहीँ बस्न दिए, छाप्रा हाल्न सहयोग खोज्ने थियौं’, अजयले सुनाए, ‘उनले नबस भनेमा सडकमा सुत्नेबाहेक अरु उपाय छैन, छोराछोरीको बिचल्ली हुने भो ।’ दश मिनेटभित्रै बस्ती खरानी भएको हेरेका यी दुःखीहरु अहिले आफूहरुलाई बचाउन नेपालीसँग गुहार मागिरहेका छन् । बस्तीमा राखिएको कवाडी नजिकैबाट सुरु भएको आगोले केही पनि जोगिएन, ज्यान बाहेक । बयस्क सदस्यहरु छाक टार्ने उपाय खोज्न सहर डुल्न गएका बेला बस्तीमा बालबालिका मात्र थिए । भागेर ज्यान जोगाएका बालबालिका अहिले भोकैप्यासै अलपत्र अवस्थामा छन् । 

सरकारले नहेरेको गुनासो 

Agni Pidit 3
छाप्रोसँग अन्न जलेपछि सहयोगीले दिएको खानेकुरा नानीलार्इ खुवाउँदै एक आमा 

आगलागी भएपछि प्रहरी पुगे पनि सरकारी निकायका प्रतिनिधि नआएको बस्तीका बासिन्दाले गुनासो गरे । ‘बाहिरबाट आए पनि आखिर यही माटोमा बसिरहेका छौं, हाम्रो छाला कालो छ, हामी गरिब छौं’, रमेश गिरीले भने, ‘सरकारले हामीलाई सहयोग गरेर जीवन बचाइदेओस्, हाम्रा छोराछोरी भोकै पर्ने भए ।’ उद्धारमा पुगेका प्रहरी र स्थानीयले बस्तीबाट केही पनि निकाल्न सकेनन् । बस्तीका मुखिया सहयोग खोज्दै सरकारी कार्यालयका ढोका ढक्ढक्याउन गएका छन् । ‘मुखिया जानुभएको छ, सरकारलाई गुनासो राख्न’, चन्द्रमाले भनिन्, ‘सरकारले सहयोग दिए, हामीले टाउको लुकाउने ठाउँ पाउथ्यौं कि ?’ छाप्रोसँगै जलेका भाँडाकुँडा बेवारिसे अवस्थामा 

No comments:

Post a Comment