Tuesday, July 15, 2014

सताईरहन्छ त्यो घटनाले…

Prasamsa Sharma‘याद’ नआओस् जस्तो पनि लाग्दैन र आइदिए…जस्तो पनि हुँदैन । याद आउँछ प्रायःजसो । कहिले पिडा बन्नेगरी आउँछ, कहिले सहारा हुने गरी । सायद, परेकालाई मात्र अनुभुति होला आफ्नो आत्मिय व्यक्ति गुमाउँदा कस्तो हुन्छ ! मुटु दुख्ने, पोल्ने वा चुँडिने हुन्छ भन्नेहरु देख्दा लाज लाग्थ्यो, भामत पारेजस्तो लाग्थ्यो तर आज आफैँप्रति दया लाग्छ त्यो सम्झँदा । असाधारण छ यो मानव जीवन । एकैछिनपछि के हुन्छ, कसलाई के थाहा ? जन्म र मरणबीचको अवधि यति नै हुन्छ भन्ने पत्ता लगाउनै नसकिने । हरेक प्राणीको मरण अनिवार्य छ । फरक यति हो, कसैको ढिलो त कसैको चाँडो । मरेर जानेहरु फर्केर आएका छैनन् र पनि अर्को जन्म लिने कल्पना अधिकांसले गरेका हुन्छन् । मरण आफैँमा कहालिलाग्दो क्षण त हो तर यसको प्रकृतिका आधारमा पिडा हुने गर्दो रहेछ । 

उमेर पुगेर, रोग लागेर वा दुर्घटनाबाट हुने मृत्युका चोटहरु पनि फरक–फरक खालका हुने रहेछन् । उमेर पुगेर हुने मृत्युमा मन बुझाउने बाटो पनि हुन्छ वा त त्यसलाई स्वभाविक रुपमा लिइन्छ । तर, भर्खरकै उमेरमा कुनै निरोगी व्यक्ति त्यो पनि प्राकृतिक प्रलयबाट गुमाउन पर्दा साह्रै नै छटपटी भइराख्दो रहेछ । ‘नौ दिनमा नौलो २० दिनमा बिस्र्यो’ भन्ने नेपाली उखान मेरो हकमा भने लागु हुन सकेन । खारापानीको त्यो महाप्रलयबाट गुमेकी मेरी साथी आर्जनाको याद मेरा मानसपटलमा पल–पल आइरहन्छ । त्यो नत नौलो हुन सकेको छ, नत उनलाई बिर्सन नै सकेको छु । ताजै छन् उनसँगका क्षणहरु । 

२०६९ साल बैशाख २३ गते शनिबार बिहान चार बजेको थियो । आर्जनाको फोन रहेछ । मोवाइलको घण्टी एक्कासी बजेपछि मेरो निद्रा खुल्यो । ‘हेल्लो’ ‘ओई, अझै उठ्या छैनस् ?’ ‘बल्ल त चार बज्यो, साढे चार बजेको अलाम लाथेँ ।’ ‘चाँडै उठ्न यार, ढिलो हुन्छ के फेरी पिकनिक जान ।’ ‘तँ उठिस् र ?’ ‘अँ नुहाउन जान लाको ।’ ‘कति हतार भाको त ? एकैछिन सुत्छु नि है म ।’ ‘ह्या तँ पनि, चाँडो उठ्न के । अनि, स्कुटर लिएर केशव दाइको तिर जा । म पनि त्यहिँ आउँछु ।’ ‘ल ल’ उसको हठको अगाडी मेरो निद्रा यस्सै भागेर गयो । म उठेँ । ……………………………………………………….. आर्जना र मबीच नजिकको सम्बन्ध थियो । दुबैको घर पोखरा । व्याचलर्स लेभलमा पव्लिक हेल्थ पढ्दै थियौँ । 

हरेक दिन कलेज पुग्नुअघि मेरो घरमा पस्नु उसको दैनिकी थियो । उसलाई कुर्ने र उसँगै कलेज जानुचाहिँ मेरो दैनिकी । सधैँ पढाईको चाप र व्यस्त दैनिकी । करियर बनाउने बेलामा रमाइलो गर्ने मौका कमै मिल्थ्यो हामीलाई । यस्तो बेमौकाको बीचमा बुनिएको यो मौकाको पिकनिकमा कहाँ जाने ? के खाने ? के लाने ? भन्ने कुरा साथीभाइका माझमै छलफल हुन्थे । तर, लुगा लगा के लगाउने ? आफू कस्तो देखिने ? भन्ने कुरा मन खाने साथीका माझ नै सुटुक्क हुने गर्छ । आर्जना र मबीच यसबारेमा शुक्रबार नै छलफल भएको थियो । त्यसैले लुगा लगाइवरी एक घण्टामै म तयार भएँ । 

मैले झोला हेरेँ । क्यामेरा, व्याट्रि, मोवाइल, पर्स सबै ठिकठाक थिए । गाजल, पाउडर, हामी ठिटीको झोलामा छुट्ने कुरै भएन । मम्मीसँग बिदा मागेर म स्कुटर लिएर निस्केँ । म पढ्ने कलेज घरको आडैमा थियो । केही बेरमा केशब दाइसहितका साथीहरु बस लिएर त्यहीँ आउँदै थिए । अघिल्लो दिन अर्डर दिएको कुखुराको मासु र अण्डा लिएर आउनु थियो मैले । केशब दाइको घरनेरबाट आर्जनालाई पिकअप गरेर म सिद्धार्थचोकको फिस्टेल फुड प्रोडक्टमा पुगेँ । यात्राका बेलामा हामीबीचमा रमाइला कुराकानी भए । ल्याएको सामान कलेजमा छाडेर स्कुटर छोड्न म आर्जनासँगै घर पुगेँ । घरबाट कलेज फर्कँदै गर्दा उसले अचम्मको कुरा भनी, ‘साह्रै अत्यास लागिराछ यार !’ किन ? मैले सोधेँ । ‘

खै किन–किन’ उसले भनी–‘आज सँगै बसौँ है ?’ ‘भइहाल्छ नि, टेन्सन नलिई न !’ मैले भनेँ । उसको कुरा किन–किन अचम्म लागिरहेको थियो । हामी कलेज पुग्यौँ र गाडीको अन्तिम सिटमा सँगै बस्यौँ । चेतबहादुरसँगै अरु साथीहरु चढेपछि गाडी चल्यो । बसमा अन्ताक्षरी खेलेर खुशी बाँड्यौँ । एक घण्टामा हामी कास्कीको खारापानी बजार पुगिहाल्यौँ । बसपार्क नेरको सानो बजारमा मान्छेको चहलपहल थियो । हाम्रो गाडीका ड्राइभर–खलासी चिया पिउन बसे । हामी केहीले पिकनिकका लागि खोलावारी बस्ने कुरा गरेपनि त्यहाँ मान्छेको ओहोर–दोहोर हुने र हल्ला पनि बढी हुने भएकोले पारी बस्ने सल्लाह सरोज र केशबले दिए । सबैको सल्लाहमा पारी जानुपूर्व ग्रुप फोटो खिच्यौँ । 

पुलबाट सामान लिएर पारी तर्नुअघि मैले यताउती नयालेँ । १५, २० जना मान्छेहरु त्यहाँ रहेको तातोपानी कुण्डमा नुहाइरहेका थिए । बच्चाबच्चीहरु आडैमा बालुवा खेल्दै थिए । कुण्डभन्दा अल्लि पर बालुवा चाल्नेहरु थिए । ट्रक र ट्याक्टरमा ढुंगा ओसार्नेहरु आ–आफ्नै धुनमा थिए । खोला सुसाएको । हरियाली पाखा देखेर मन निकै लोभिँदै थियो । पुल तर्नेबित्तिकै आउने स्कुलपछाडिको भागमा हामीले सामान बिसायौँ । दाउरा लगायतका केही सामान ल्याउन अझै बाँकी नै थिए । हामीले कामको जिम्मेवारी छुट्टायौँ । सिजन, अमृता, सुशील, उषा, शंकर, सुस्मिता, शिव, विष्णुमाया र मसहित ९ जनाको समूहले म्युजिक सिस्टम जोड्ने, भाँडाहरु पखाल्ने अनि चुल्हो सम्हाल्ने जिम्मेवारी पायाँै । 

आर्जना, केशब पराजुली, चेत, केशब खड्का (केशब दाई) बिनिता, सरोज, नवीन सहित सात जनको समूह बाँकी रहेका सामान लिन पुलपारी गए । आर्जनाले मोवाइल यतै छोडेकी थिई । बिहानको साढे नौ बजे । अचानक कालो न काले मुस्लो सेतीभन्दा माथिबाट बढ्दै आएको मैले देखेँ । मेरा आँखा एकाएक ठूला भए । मैले चिच्याउँदै साथीहरुको ध्यान त्यता तानेँ । बिल्कुलै अचम्मको दृश्य थियो त्यो । कसैले ठम्याउने कुरै भएन । साथीले फोटो खिच्नतिर लागे । एकाएक त्यो मुस्लो अझै ठूलो हुँदै खारपानीको बस्ती नै ढाक्नेगरी उर्लेको देखेपछि पो हामीले होस पायौँ । ‘बाढी आयो, बाढी आयो’, हामी तब एकाएक चिच्याउन थाल्यौँ । झट्ट हाम्रा साथीहरु पनि तल गएको याद भयो । 

यसो तल झरेर हेर्न के थालेका थियाँै, पुलपारी मानिसहरु डरले दौडँदै गरेको देखियो । बाढीको मुस्लो यति ठूलो थियो कि त्यसले सबै बस्ती ढाक्नै आँटेको थियो । मुख बाएको सिंँहजस्तो । हेर्दाहेर्दै सबै घर एकाएक सोतर भए । केही मानिस भागेर भित्ताछेउ पुगे । भाग्दै गरेका केहि त्यहीँ बिलाए । त्यति धेरै अग्लो पुलबाट पनि मान्छेहरु पकापक खस्दै थिए । ट्रक, ट्याक्टर पनि हावाले पात उडाएझैँ बनायो । हामी साथीहरुतिर नियाल्दै चिच्याउन थाल्यौँ, ‘बाढी आयो, बाढी आयो, बाढी….।’ उर्लँदो सेतीको गर्जनका सामु हाम्रो धोक्रो फुकेको कतिले सुने सुनेनन् थाहा भएन । सेतीले बजार्दै, उफार्दै, पछार्दै ल्याएका ठूला–ठूला ढुङ्गा र मुढाहरु झोलुंगे पुलमा मच्चिएर हामीहरु नजिकै उछिट्टिँदै आए । 

हामी पनि उकालोतिर भाग्न थाल्यौँ । भर्खरै रमाइरहेको । चहलपहलमा रमिराखेको बजारमा पलभरमा पुरै सन्नाटा छाएको थियो । लाग्थ्यो, त्यो भयावह दृश्य देख्नुभन्दा त्यही नदिमा फरालेर आँखा चिम्लिन सजिलो हुन्थ्यो । हेर्दाहेर्दै सबै सखाप भयो । हामी केहीबेरमा फेरी पिकनिक स्थलमा झ¥यौँ । स्पिकरबाट माइक जोडेर माइकबाटै चिच्याउन थाल्यौँ । ‘साथीहरु कोही हुनुहुन्छ भने हात उठाउनुहोला ।’ साथीहरु….. यसरी लगातार बोल्न थालेपछि परबाट बिनिताले हात उठाइन् । बसपार्क भन्दापनि भित्तामा पुगेकी रैछिन् । उनले आफू एक्लै भएको संकेत गरिन् । तर, त्यसपछि कसैले हात उठाएन । पौने एक घण्टा जति पछि चारजना साथी सम्पर्कमा आए । 

माथिल्लो गाउँबाट बाढी आउँदै छ भन्दै एक पसलमा आएको फोनको खबरले हाम्रो गाडीका ड्राइभर र खलासी सहित धेरै मान्छे भाग्न भ्याएछन् । हाम्रा दुई साथी आर्जना र चेतबहादुर हराए । अब के गर्ने ? कसरी खोज्नेबारे हामी अन्यौलमा भएकै बेलामा हामीसँगै भएको आर्जनाको मोवाइल फोन बज्न थाल्यो । उनको घरबाट फोन आएको रहेछ । अब हामीले के भन्ने ? हामीसँग उत्तर केही नभएकोेले त्यो कल फोन उठाउन सकेनौँ । हामीलाई कलेजबाट पनि फोन आयो । त्यो ठाउँ असुरक्षित हुने देखेपछि सरले हामीलाई घर फर्कने अर्को बाटोको बारेमा बताउनुभयो । हामीले त्यहाँ भएका खानेकुरा नजिकैको घरलाई जिम्मा लगायौँ । भाँडाकुँडा केही दिनमा लिन आउँछौ भनेर हामी त्यहाँबाट भोकै दिनको करिब २ बजेतिर हिँड्यौँ । पाइला उल्टो बाटोतिर चालेझँै लाग्थ्यो । 

यस्तो लाग्थ्यो कि हामीले केही बिराएका छौँ । कसैसँग बोल्ने र कुरा गर्ने शव्दहरु थिएनन् । सबैका आँखा चिसा थिए । मनभरी धेरै कुरा खेलाउँदा–खेलाउँदै चार घण्टाजति हिँडेको पत्तै भएन । साँझ ६ बजेको समयमा हामीले हाम्रा शिक्षक र परिवारलाई भुनपरे भन्ने ठाउँमा भेट्यौँ । सरले साथीहरुको लागि अरु गाडीको व्यवस्था गरिदिनुभयो । हामी र सर बस्ने घर नजिकै थियो । मेरो बाबा, मम्मी र म सरको गाडीमा चढ्यौँ । त्यसैबेला एफएममा आएको समाचारमा आर्जनाको लास रामघाटमा भेटिएको र चेतको कुनै पत्ता नलागेको कुरा सुनियो । रामघाट जान पिकनिक स्थलबाट एक घण्टाभन्दा बढी गाडीमा हिँड्नुपर्छ । यो समाचार सुनेपछि म झनै रुन थालेँ । 

आर्जनाको घर जान भनेर हाम्रो गाडी चिप्लेढुङ्गाबाट बाटुलेचौरतिर मोडियो । घर आइपुग्यो । उनको घर बाहिर मान्छेको हुल थियो । आँगनमा मेरी साथीको लास लैजानका लागि बाँसका खाट बनाइएको थियो । बिहान सँगै हिँडेकी साथीलाई साँझ परेपछि घाट लैजान लागेको म कसरी हेर्न सक्थेँ ? म उसको बाबाआमालाई भेट्न भित्र जान पनि सकिन । मेरो कानमा उ बोलेको, उसले हँसाएका कुराहरु मात्र याद आउन थाले । ‘साह्रै अत्यास लागिराछ यार । आज सँगै बसौँ है’ उसले बिहान भनेका कुराले त झनै पोल्न थाल्यो । म उसँग थिइन त्यतिबेला । 

मेरो दिमागले केके सोच्यो, सोच्यो । म थरथर काँप्न थालेछु । हालत खराब हुन थालेपछि मलाई सरासर त्यहाँबाट घर ल्याइयो । घरमा भेट्ने आफन्तको ओइरो लागेको थियो । कोहि मलाई समाएर बिलौना गर्दै थिए । कसैले के भएको थियो भनेर सोध्दै थिए । कोको थिए ? कसरी भाग्यौ ? यस्तै–यस्तै धेरै प्रश्नहरु केही सुनेँ, केही नसुनी हराए । मेरो मुखबाट केही शव्द फुटेको थिएन । एकोहोरो टोलाउँदै । आँखाभरी बाढी बगाएर, रोइमात्रै रहेँ । अझैपनि आँखा ओभाउन सकेका छैनन् । प्रश्न उव्जिइरन्छ मनमा …. कहाँ होलिन् आर्जना ? लेखक : ला–ग्राण्डी इन्टरनेशनल कलेज, पोखराकी विद्यार्थी हुन् ।

No comments:

Post a Comment