Saturday, July 5, 2014

जाजरकोटबाट ४ करोड बाहिरियो

जाजरकोट, असार २१ - जिल्लाका स्थानीयले पनि विनविनलाई ४ करोड बुझाएको खुलेको छ । स्थानीयले मासिक १ लाख भारु तलब पाउने आशामा कम्पनीको सदस्य बन्दै रकम बुझाउने गरेका हुन् । यहाँबाट मात्रै विनविन कम्पनीको सेयर सदस्य बनेर रकम बुझाउनेको संख्या ४ सय नाघेको खलंगा-७ का शिवजी वलीले बताए । सदस्य बन्नेले जनही ४० हजारदेखि २ लाखसम्म बुझाएका उनको भनाइ छ । रकम बुझाउनेमा बेरोजगार, कर्मचारी, सेना, प्रहरी, व्यापारी, शिक्षक रहेको उनले बताए । स्थानीयलाई बनारस पुर्‍याउन खलंगा-६ का माहेन विष्ट र सुर्खेतका रामप्रसाद चौधरी सक्रिय रहेको बताइएको छ । 

हल्लैहल्लामा बनारस पुग्ने र ७ दिनको प्रशिक्षण लिएपछि कम्पनीको सदस्य बनेर रकम बुझाउने गरेका हुन् । बनारस पुर्‍याएर ठगी गर्ने एजेन्ट हाल जिल्लाभरि सक्रिय छन् । छोटो समयमा सहज तरीकाले ठूलो रकम कमाउने आश्वासन पाएपछि एकपछि अर्को गर्दै ठूलो संख्यामा स्थानीय बनारसतर्फ लाग्ने गरेका छन् । कतिपयले त नेटवर्क बिजनेसले धोका दिन्छ भन्दा पनि विश्वास नगरेको वलीको भनाइ छ । कम्पनीप्रति व्यग्र विश्वास गर्दै त्यसतर्फ जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । विनविन कम्पनीको सदस्य बन्नेमा खलंगा, ढिमे, डाँडागाउँ, लहँ, खगेनकोटलगायत गाविस स्थानीय बढ्ता रहेका छन् ।

No comments:

Post a Comment