Thursday, June 26, 2014

मुलरको जर्मनीविरुद्ध क्लिन्सम्यानको अमेरिका

mullarपार्तो सेगुरो (एपी), असार १२ - थोमस मुलरले विश्वकप २०१४ को पहिलो खेलमा ह्याटि्रक गरे । र, दोस्रो खेलमा उनको अनुहार रगतमा मुछिएको जस्तो देखियो । जर्मन स्ट्राइकर तेस्रो खेलमा भने राम्रो भएको हेर्न चाहन्छन् । अमेरिकालाई हराउँदै समूह 'जी' को विजेता बन्दै टिमलाई नकआउट चरणमा लान चाहन्छन्, मुलर । घानाविरुद्धको खेलमा विपक्षी खेलाडीसँग जुधेर घाइते भएका मुलरको अनुहारमा पाँच टाँका लगाउनु पर्‍यो । चोटका बावजुत पनि उनी अमेरिकाविरुद्ध खेल्ने सोचमा छन् । 'पीडामुक्त हुनु भनेको ठूलो शब्द हो । तर म 'पेन किलर' औषधिबिना नै खेल्न सक्छु,' मुलरले भने । 

जर्मन प्रशिक्ष्ाक जोचिम लोले आफ्नो आक्रमण कस्तो बनाउनेछन् भन्न गाह्रो छ । तर बिहीबार अमेरिकासँगको खेलमा लोको आक्रमणमा मुलर प्रमुख हतियार हुनेछन् । अमेरिका र जर्मनीले बराबरी खेलेमा दुवै टिमले नकआउट चरणको यात्रा तय गर्नेछन् । त्योसँगै अर्को पोर्चुगल र घाना बाहिरिनेछन् । 'हामी राम्रो खेल्न चाहन्छौं । गोल नखाने र समूहविजेता बन्ने हो । तर त्यसका लागि धेरै सहज हुनुपर्छ,' मुलरले भने,'नभए प्रतियोगिता धेरै छोटो हुन सक्छ ।' हारका बावजुत पनि जर्मनी अघि बढ्न सक्छ । किनकि उसको प्लस ४ गोल छ । र, साथमा अमेरिकासँगै समान ४ अंक पनि । घाना र पोर्चुगलको भने समान १ अंक छ । मुलरले पोर्चुगलविरुद्धको ४-० को जितमा तीन गोल गरेका थिए । 

र, घानासँगको २-२ को बराबरीमा पास उपलब्ध गराइदिएका थिए । उनी दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा उच्च गोलकर्ता भएका थिए । उनले त्यसबेला ५ गोल गर्दै ३ गोलका लागि पास मिलाइदिएका थिए । लोले शुद्ध स्ट्राइकरका रूपमा खेलाउन सक्छन् वा उनले भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजलाई अघिको जिम्मेवारी दिएर मुलरलाई दायाँ विङ्सको जिम्मेवारी दिन सक्छन् । ब्राजिलियन स्टार नेयमरले मुलरले भन्दा एक गोल बढी गरेका छन् । तर जर्मन स्ट्राइकर आफू उच्च स्कोरर बन्ने अभियानमा नरहेको बताउँछन् । नेयमरले चार गोल गरिसकेका छन् । 'मैले त्यो कुरा पछिल्लो पटक पाइसकें । 

यस पटक त्यो भन्दा ठूलो विश्वकप नै जित्न चाहन्छु,' मुलरले भने,'मैले गोल गरें भने त्यो सुनमा सुगन्ध हो ।' मुलरलाई रोक्न विपक्षीलाई गाह्रो पर्छ । जर्गेन क्लिन्सम्यान अहिले अमेरिकी प्रशिक्षक हुन् । क्लिन्सम्यान सन् २००६ मा जर्मनीका प्रशिक्ष्ाक थिए । उनले आफू बायर्न म्युनिकको प्रशिक्षक हुँदा मुलरलाई सिनियर टिममा ल्याएका हुन् । पछि लुइस भान गालले मुलरलाई नियमित खेलाडीका रूपमा उतारे । 'मुलर सधैं खेल्छन्,' सधैं घुमिरहने प्रशिक्षकको उपनाम पाएका क्लिन्सम्यानले भने । यसलाई अमेरिकी टिमभन्दा पनि क्लिन्सम्यान र जर्मनीबीचको खेलका रूपमा हेरिएको छ । तर मुलर भने क्लिन्सम्यान नभई जर्मनी अमेरिकाविरुद्ध खेल्न लागेको बताउँछन् ।

No comments:

Post a Comment