Monday, June 2, 2014

वानीराले रथ चढ्दा

womenकाठमाडौ, जेष्ठ १७ - दार्जिलिङको नयाँबजार खर्साङमा जन्मिइन्, साहित्यकार डा. वानीरा गिरी । साहित्य सेवा भने नेपालमा गरिन् । लामो समय प्राध्यापन गरेकी उनले उपन्यास, कविता लगायत विधामा दर्जन नेपाली साहित्यिक कृति लेखेकी छन् । नेपाली साहित्यमा पहिलोपटक विद्यावारिधि गर्ने महिलाको रूपमा समेत छवि बनाएकी उनलाई शनिबार त्रिमूर्ति निकेतनले 'विश्व नारी रत्न' को उपाधिसहित पाँच लाख रुपैयाँ र सम्मानपत्रबाट पुरस्कृत गर्यो । प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री वामदेव गौतमबाट उपाधि पाएपछि उनको रथ्ाारोहणसमेत गरियो । 

कविशिरोमणि लेखनाथ पौडेलपछि रथारोहण भएको उनी दोस्रो नेपाली स्रष्टा हुन् । २०११ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पौडेलको रथारोहण गराएका थिए । डा. वानीरा चाहिँ तीनदिने विश्व नारी नेपाली साहित्य सम्मेलनको अवसरमा सम्मानित भएकी हुन् । भाटभटेनीस्थित आम्रपाली बैंक्वेटबाट जंगी अड्डाको सौजन्यमा उनको रथारोहण गरिएको थियो । रथमा उनलाई कवयित्री उषा शेरचन र सम्मेलन केन्द्रीय समितिका अध्यक्ष डा. गार्गी शर्माले पनि साथ दिए (तस्बिरमा) । नक्साल, हात्तीसार, दरबारमार्ग हुँदै भद्रकाली सहिदगेट घुमेर फेरि भाटभाटेनी पुर्‍याइएकी वानीराको अनुहार घरी भावुक देखिन्थ्यो, घरी चञ्चल । ४५ मिनेटको रथयात्रापछि सम्मेलनस्थल पुगेकी उनलाई त्रिमूर्ति निके तनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बोकेर स्टेज लगेका थिए । 

बेहुलीझैं सिंगारिएकी उनी भने हल्का लजाउँदै 'भाइजस्तो मान्छेको बुई चढ्नुपर्‍यो आज' भन्दै थिइन् । 'मेरो जीवन यात्राकै ठूलो भाग्य हो यो,' उनले भनिन्, 'सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्रीबाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको छ ।' उनले जीवनकै सर्वाधिक हर्षको क्षण दाबी गर्दै उनको कृतित्व र व्यक्तित्वमाथि ले खिएका कृति र तिनका लेखकहरूप्रति पनि आभार व्यक्त गरे । प्रधानमन्त्रीले डा. वानीरामाथि नै लेखिएका कृति 'कवितामा वानीरा', 'वानीरा गिरीको कृतिस्तम्भ', र 'नेपाली साहित्यका विश्व नारी रत्न' सँगै १४ साहित्यिक किताबसमेत लोकार्पण गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले 'नारी स्रष्टा र साहित्य सर्जकको सम्मानका लागि सरकार क्रियाशील रहेको' दाबीसमेत गरे । 

उनले 'झन्डै दुई शताब्दीअघि सुरू नेपाली साहित्य आज विश्वभर फैलिएको र विभिन्न देश पुगेका नेपाली स्रष्टाले विदेशी भूमिमा पनि लेखन कायम राखी नेपाली साहित्यलाई ठूलो गुन लगाएको' समेत चर्चा गरे । उपप्रधानमन्त्री गौतमले भाषा, साहित्यको समृद्धिले राष्ट्रको पहिचानलाई पनि बलियो बनाउने तर्क राख्दै साहित्यकारको सम्मानले मात्र भाषा-साहित्यको विकासमा योगदान पुग्ने दाबी गरे । सिक्किम विश्वविद्यालयका प्रा.डा. पुष्पा शर्माले 'भारतीय भूमिमै जन्मिएका वानीराको सम्मान आफूहरूको पनि सम्मान रहेको दाबी गर्दै भूगोलभन्दा भाषाको साइनोलाई बलियो बनाउन सम्मेलनले काम गरेको' बताइन् । बिहीबार सुरु सम्मेलनमा पाँच महादेश, २० राष्ट्र र नेपालका चौध अञ्चलका गरी ३ सय नारी स्रष्टा छन् । सम्मेलनमा विभिन्न कार्यपत्र पेस गर्नुका साथै प्राज्ञिक समीक्षा गरिने र घोषणापत्र जारी गर्दै शनिबार सकिने सदस्यसचिव नरेन्द्र प्रसाइले जनाए ।  

No comments:

Post a Comment