Monday, June 2, 2014

फोटो खिच्नेबित्तिकै पाठक इशान गौतमले खुसी हुँदै भने, 'अबचाहिँ फेसबुकमा अपलोड गरिन्छ

literatureकाठमाडौ, जेष्ठ १८ - किताबका पानामा हस्ताक्षर गरेपछि, एक हूल जमातले आ-आफ्ना गोजीबाट मोबाइल झिक्दै 'फोटो पनि खिचौं न' भन्न थाले । लेखक खगेन्द्र संगौला र झलक सुवेदीले एकातिर फोटोका लागि स्विट स्माइल दिने प्रयास गर्दै थिए भने अर्कोतिर टेबलमा हस्ताक्षरको हात पनि चलाइरहेका थिए । फोटो खिच्नेबित्तिकै पाठक इशान गौतमले खुसी हुँदै भने, 'अबचाहिँ फेसबुकमा अपलोड गरिन्छ ।' खगेन्द्रकै छेउमा हस्ताक्षर गर्न बसेका झलकले पनि ती युवाहरूको उत्साहलाई मुस्कुराउँदै सर्मथन जनाए । पाठक र लेखकबीचको यो रोचक लुकामारी यतिबेला भृकुटीमण्डपमा चलिरहेको '१८ औं नेपाल शिक्षा तथा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी' मा देख्न सकिन्छ । 

केही दिनअघि मात्रै पछिल्लो कृतिका रूपमा खगेन्द्रले संस्मरण 'बाल्यकालका पदचापहरू' प्रकाशनमा ल्याएका थिए । झलकचाहिँ आफ्नो उपन्यास 'आधा जुन' किनेका पाठकहरूका लागि हस्ताक्षर गरिरहेका थिए । शनिबार तेस्रो दिन पनि लेखकको हस्ताक्षर माग्नेहरूको बाक्लो उपस्थिति थियो । फाइन पि्रन्टको स्टलमा हस्ताक्षर गरिरहेका खगेन्द्र र झलकजस्तै यता याम्बुरी बुक प्वाइन्टको स्टलमा कवि विप्लव ढकाल र उपन्यासकार अखण्ड भण्डारी हस्ताक्षरमा व्यस्त थिए । रातो खादा पहिरिएर कुर्सीमा बसेका विप्लवले पछिल्लो कविता संग्रह 'च्याउको जंगल' मा हस्ताक्षर गरिरहेका थिए, अखण्डचाहिँ आफ्नो उपन्यास 'मलाया एक्सप्रेस' मा । किताबमा लेखकको हस्ताक्षर लिएपछि फोटोका लागि पाठकले यिनलाई पनि घेर्थे । यो दृश्यबाट कवि विप्लव आफैं अचम्मित भए । 

उनले पछिल्लो समय पाठक र लेखकबीचको सम्बन्ध विस्तार हुन थालेको दाबी गरे । कुनै बेला 'कविता भन्नेबित्तिकै सुन्नुपर्छ भनेर पर भाग्ने जमात अहिले कविता संग्रहकै लागि लाइन लगाएर हस्ताक्षर गर्न आउनुले कविताप्रतिको आम पाठकमा रुचि बढ्न थालेको' विप्लवले सुनाए । उता अखण्डको 'मलाया एक्सप्रेस' को सहुलियत संस्करण धेरै बिक्री भएको याम्बुरी बुक प्वाइन्टका अध्यक्ष कुयाङ लामाले बताए । उनले शनिबार मात्रै २ सयभन्दा माथि किताब बेचेको दाबी गरे । लेखकका लागि प्रदर्शनी दसैंजस्तै लाग्छ । पाठकहरू पनि आफ्ना मनपर्ने लेखकहरूसितको भलाकुसारी र भेटघाट हुन पाउने भएकाले प्रदर्शनीमा बेग्लै आनन्द महसुस गर्छन् । एकै ठाउँमा थुप्रै थरी पुस्तक भेट्टाइने र लेखकसँग साक्षात्कार गर्न पाइने हुँदा प्रत्येक वर्षको प्रदर्शनीमा आफू आउने गरेको भक्तपुरकी बबिता नकर्मीले बताइन् । 

राजन मुकारुङको मदन पुरस्कार प्राप्त उपन्यास 'दमिनी भीर' किनेकी उनले लेखक आएका छन् कि छैनन् ? भन्दै आयोजकलाई सोधेकी थिइन् । शिक्षण पेसा गर्ने २४ वर्षीय बबिताले राजन नआएको जानकारी पाएपछि हरिवंशको 'चिना हराएको मान्छे' किनिन् । लेखकको हस्ताक्षर सहितको पुस्तक किन्ने उनको चाहना थियो । त्यसैले 'चिना हराएको मान्छे' किनेको बताइन् । 'प्रदर्शनीको फाइदा यही त हो,' उनले भनिन्, 'पुस्तक पसलमा यस्तो अवसर कहाँ पाउनु ?' रोजन पहाडी दिउँसो १२ बजे प्रदर्शनीस्थल छिरेका थिए । किशोर नेपालको 'मेरो समय' किनेका उनले दिउँसो लेखक आउँदै छन् भन्ने जानकारी पाएपछि हस्ताक्षरका लागि दिनभरि कुरेर बसेको बताए । करिब ३ बजे प्रदर्शनीमा आएका लेखक किशोरबाट कीर्तिपुरका २२ वर्षीय रोजनले हस्ताक्षर गराएरै छाडे । निस्किने बेला उनी निकै प्रफुल्लित देखिएका थिए । '

युद्धका डोबहरू' का पुण्यप्रसाद प्रसाईं, 'एम्बुसमा छ वर्ष' का दामोदर न्यौपाने, 'मञ्जरी' का राजु नेपाल, 'कोसिस' का मुकुन्द अधिकारी लगायत लेखकहरू पनि पाठकसित हस्ताक्षर क्रममा भेटिए । उनीहरूले पनि आफ्ना फयानहरूसित फोटो खिच्न भ्याए । प्रदर्शनी स्थलमा पाठक अन्तरक्रिया, हस्ताक्षरसँगै पुस्तक विमोचनहरू पनि भइरहेका छन् । शनिबार कवि श्रवण मुकारुङको गीति संग्रह 'सुनरे सियाराम' सार्वजनिक गरियो । पूर्वकुलपति बैरागी काइँलाले उनको कृति सावर्जनिक गर्दै श्रवणको लेखनमा मौलिकता झल्कने बताए । आभासले श्रवण र आफ्नो मित्रताको प्रसंग जोड्दै सामाजिक चरित्रमा रचनाको सौन्दर्य ढाल्न सक्ने खुबीको उनमा भएको दाबी गरे । विप्लव ढकालले श्रवणलाई सरल लेखनमा क्षमता भएका स्रष्टा भने । शनिबार साहित्यिक पत्रिका 'पाण्डुलिपि' माथि पनि परिचर्चा राखिएको थियो । 

बीएन पुस्तक संसारले दुई महिना अघिदेखि प्रकाशन थालेको पत्रिकाको दोस्रो अंक निबन्धकार शंकर लामिछाने केन्दि्रत थियो, यही विषयलाई जोडेर प्रदर्शनीमा छलफल चलाइएको थियो । गुरुङ सुशान्त र राजकुमार बानियाँले मोडरेट गरेको कार्यक्रममा साहित्यकार कुमार नगरकोटी, रोशन शेरचन र शेखर खरेलले शंकर लामिछाने र पत्रिकाबारे बोलेका थिए । कुमारले नेपाली साहित्यिक पत्रिकामा 'पाण्डुलिपि' ले बेग्लै छाप छोड्न सफल भएको दाबी गरे । पत्रिका दीपक सापकोटाको सम्पादनमा मासिक रूपमा निस्किन्छ । ग्लोबल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज्ले गरेको प्रदर्शनीचाहिँ २२ गते सम्म रहने छ । साहित्य, शिक्षा, बिजेश, संस्कृति, स्वास्थ्य लगायत बालबालिका र गृहणीलाई समेत आवश्यक पुस्तकका १ सय १५ स्टल प्रदर्शनीमा छन् । ekantipur

No comments:

Post a Comment