Sunday, June 1, 2014

रोल्पा को गाममा गाडी पुगेपछि खुसियाली

गाम (रोल्पा), जेष्ठ १७ - सशस्त्र युद्धबाट सबैभन्दा प्रभावित गाममा सडक पुगेपछि स्थानीय खुसी र उत्साहित भएका छन् । सदरमुकाम लिबाङबाट २८ कोस टाढा पर्ने यो गाविसमा कच्ची सडक पुग्दा स्थानीयले खुसियाली मनाएका हुन् । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना -आरआरआरएसडीपी) अन्तर्गत सडक पुर्‍याइएको हो । 'शान्ति एवं विकास' कार्यक्रमअन्तर्गत पूर्वी रोल्पाको सुलिचौर-गाम सडक निर्माण गरिएको हो । 'अहिले गामसम्म कच्ची सडकको ट्रयाक खन्ने काम सकिएको छ ।' 

आयोजना प्रमुख इन्जिनियर गौरीकुमार श्रेष्ठले भने । गाममा सडक पुगेपछि जिल्लाकै अति विकट गाविस लिबाङसँग सडक सञ्जालका माध्यमबाट जोडिएको छ । 'तत्कालीन समय -युद्धको अवधिमा) मा राज्यपक्षबाट पुर्‍याइने कार्यक्रम कहिल्यै पुग्न सकेनन् ।' पूर्व जनप्रतिनिधि एवं निर्माण व्यावसायी रमेश रोका भन्छन्, 'अहिले सडक पुगेपछि हामीले जिल्ला सदरमुकामस ँग जोडिएर खुसी अनुभूति गरेका छौं ।' गाउँमै सडक, सरकारी सेवा र सुविधा पुगेपछि वर्षौंअघि पलायन भई काम खोज्न भारत पसेका र खाडी मुलुक पुगेका युवा फर्केर वैकल्पिक पेसा रोज्न थालेका छन् । 

परियोजनाका अनुसार सुलिचौरबाट गाम पुग्ने उक्त सडक ३६ किलोमिटर लामो छ । उक्त सडकले गाम, मिझङ, बडाचौर, गुम्चाल, हार्जङ लगायतका गाविसलाई प्रत्यक्ष जोड्छ भने त्यस वरिपरिका गाविसले समेत लाभ पाउने भएका छन् । स्थानीयले ४६ उपभोक्ता समिति गठन गरी सडक खनेका थिए । स्टोनका अनुसार सडक खन्न गाउँका अतिविपन्न, दलित, महिला, जनजाति र गरिबहरूको सक्रिय सहभागिता थियो । २५ करोड लगानीमा सुलिचौरदेखि गामसम्मको सडक निर्माण गरिएको हो । सडक निर्माणपछि सुदूर गाउँलाई सदरमुकामसँग सिधै जोडिएकाले स्थानीय तहमा रोजगारी सिर्जना हुनुका साथै ग्रामीण वस्तुको उत्पादनले समेत बजार पाउने विश्वास लिइएको छ । 

स्थानीय विकास अधिकारी हीरालाल रेग्मी भन्छन्, 'द्वन्द्व र भौगोलिक कठिनाइका कारण जिल्लाकै पछि परेको गाममा सडक पुर्‍याउन पाउँदा व्यक्तिगत रूपमा म पनि हौसिएको छु । सडक पुगेपछि अरू प्रकारको विकास पनि लैजानुपर्छ ।' सडकमा पर्ने दुईवटा पुल निर्माण हुन सके सडक वर्षैभर चल्ने आयोजनाका इन्जिनियर लोक बिष्टले बताए । गाममा मुस्किलले २ हजारभन्दा बढी जनसंख्या छ । गामस्थित माध्यमिक विद्यालयका शिक्षक बागवीर घर्तीमगरले पर्यटकीय विकासका योजना अघि सार्न सके विकासमा नयाँ आयान आउन सक्ने बताए । '

प्राकृतिक एवं युद्ध पर्यटनको अवधारणा अघि ल्याएर विकास गर्न सकेमा यहाँको गरिबी घटाउन सहयोग पुग्नेछ । यसका लागि सरकारले केन्द्रीय तहबाट योजना ल्याउनुपर्छ ।' गाममा सशस्त्र युद्धमा लडाइँ भएको तमाखे डाँडा, आकर्षक एवं सुन्दर विबाङ र कोठीभीर लगायतका प्राकृतिक स्थानहरू छन् । युद्धका कारण ध्वस्त भएका भौतिक निर्माण योजनालाई पुनर्निर्माण र विस्थापितलाई पुनःस्थापना गर्न ठूलो लगानीमा यस्ता सडक योजना गाउँगाउँमा लैजान सकिए विगतको युद्धको घाउ बिर्साउनमा टेवा पुग्ने स्थानीयको माग छ । 

रोल्पामा विगत युद्धताका भौतिक सम्पत्तिको ठूलै क्षति भएको थियो । जिविस र स्थानीय प्रशासनले करिब ५० करोड जतिको क्षति भएको आशंका गरेका छन् । शान्ति मन्त्रालयले सबै क्षतिको विवरण माग गरे पनि गाउँमा पुगेर ध्वस्त सम्पत्तिको मूल्यांकन गर्ने जनशक्ति अभावमा वास्तविक क्षति विवरण पाउन नसकिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

No comments:

Post a Comment