लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा हालै आयोजित समारोह एक साता लामो तबला शिविरको समापनको अवसर थियो । राजधानीस्थित अतुल स्मृति गुरुकुल र केन्द्रले संयुक्त रूपमा नयाँबजारमा दुई वर्षमा दोस्रो चोटि शिविर चलाएका थिए । राजधानीबाट आएका तबलावादक परशुराम पौडेलले प्रतिष्ठित व्यक्ति र विद्यार्थीहरूलाई तबला सीप सिकाएका थिए । परशुरामझैं केन्द्रका प्राचार्य तीर्थराज पोखरेल पनि बनारसकै उत्पादन हुन्, जसको दक्षता चाहिँ शास्त्रीय गायनमा छ ।
समारोहको पहिलो प्रस्तुति गुरुकुलकै विद्यार्थीहरूको थियो ।
तीर्थराज र राम स्वामीको सहयोगमा अनिल विक, रश्मि अमात्यलगायतले राग र भजन सुनाएपछि बनारस हिन्दू युनिभर्सिटीकै अर्का उत्पादन श्री केसी मञ्चस्थ भए । राजधानीको पद्मकन्या क्याम्पसका गायनगुरुले ध्रुपदको छोप हाल्दै राग विहाग गाए । तबलामा मनोज गौतमको साथ पाएर होला, उनले निश्चिन्त गाइरहे, पौने घन्टासम्म । 'पोखरामा पहिलो प्रस्तुति दिइरहेका' उनले राग आधारित आफ्ना सिर्जनाहरू पनि सुनाए । परशुरामले छोटो समयको तबला सोलो प्रस्तुति दिए ।
राजधानीमा सक्रिय रक सितार ब्यान्डका बाँसुरीवादक प्रताप केसी मञ्चमा उक्लिँदा अँध्यारो बाक्लिइसकेको थियो ।
सांगीतिक प्रस्तुतिहरूको बीचमा, गायन, वादन र लेखनमार्फत 'शास्त्रीय संगीतको विस्तारमा योगदान पुर्याएकामा' क्रमशः श्री, परशुराम र कान्तिपुरका पत्रकार पारस नेपाललाई सम्मान पनि गरियो । प्राज्ञ कोइरालाले सम्मान हस्तान्तरण गरिन् ।
'पहिलो चोटि यति भव्य रूपमा कार्यक्रम गर्नेबारे सोच्दा नै साहस डगमगाएको थियो,' तीर्थराज भन्दै थिए, 'तर अग्रज, मित्र र विद्यार्थीहरूको सहयोगले यो सम्भव भयो ।' उनलाई हौसला दिन प्रमुख अतिथिको आसनबाट कोइराला पनि गाउँदै थिइन्—
माछापुच्छ्रे सररर
हाँसेको हेर
पोखराको सररर
फेवाताल देखेर
माछापुच्छ्रे सररर
हिमालको छाया फेवातालमै सररर हेरेर जाऊ माया...
-
No comments:
Post a Comment