Wednesday, June 4, 2014

हलो जोत्ने हात समेत गुमाएर मलेसियाबाट फर्किदै छु’

‘हलो जोत्ने हात समेत गुमाएर मलेसियाबाट फर्किदै छु’ मेरो नाम कमलवहादुर दिगेल मगर हो । मेरो घर मोरङको मधुमल्ला गाविस वडा नम्बर ४ मा पर्छ । उमेर ५० नाघि सक्यो । श्रीमती र चार छोरा छोरीमध्ये दुईटी छोरीको विहे भइसक्यो । दुई छोराम र श्रीमती छन बाँकी । जग्गाजमिनको नाममा १० कठ्ठामात्रै छ । त्यहाँवाट उब्जिएको अन्नले दुःखजिलो खान पुगे पनि अरु उपाय छैन । नेपालमा हुँदा अरुको खेतीपाती गरिदिएर गुजारा चलाउदै थिएँ । राम्रो कमाउने सपना देखेर मलेसिया आएँ । हलो जोतेरै भएपनि कान्छालाई बोर्डिङमा पढाउन थालेको थिएँ । अहिले पनि वडेमानको झोलावोकेर छोरा पढन जान्छ भनेर वुढिमाउले फोनमा सुनाउदा मनमा आनन्द आउछ । वास्तवमा मलाई विदेश आउ मन थिएन । 

उमेरले पनि नेटा काटिसक्यो । तर बाध्यतामा परेँ । आजमात्रै हेरेर भएन, भोलि बुढेसकालका लागि केही कमाउन सकिएला भनेर १ लाख २० हजार रुपियाँ मेनपावरलाई बुझाएर आएँ । मैले मलेसियाको भूमीमा टेकेको सन् २०११ जुन १८इ तारिखमा हो । मैले काम गर्ने कम्पनी जोहोरको सेगामतमा रहेको प्लाष्टिक(रवर) कम्पनी रहेछ । मैले जुन २० तारिख देखि नै काम थालेँ । त्यहा म जस्तै थुप्रै नेपालीहरु पनि पहिला देखि नै काम गर्दै आएका रहेछनप् । अहिले पनि २० २५ जना नेपाली छौ । अरु देशकाअलि थोरै छन । म आउदा काम गरिरहेका धेरै जसो नेपालीहरु काम छाडर वाहिरी सकेका छन । नेपालमा जस्तो काम गर्‍यो, वस्यो, साथीभाईसंग कुरा गर्यो,चुरोट खायो यहाँ यस्तो नहुदो रहेछ । 

डिउटि भनेपछि छिसिक्क केहि पनि गर्न नपाईने । घरबाट आएको फेान समेत उठाउन नपाईने । पुराना साथीहरुले दाई वुढो मान्छे राम्रो संग गर्नु है भनेर मलाई संझाउथे । मैले अहिले सम्म यो कम्पनीमा काम गरेर तीनलाख रुपैया घर पठाएको छु । जे सोचेर मलेसिया आएको थिएँ त्यो त पुरा भएन । बरु हलो जोत्ने हात चै मलेसियामा गुमाए मैले । अब म नेपाल फर्केर हलो जोत्न सक्ने छैन । घटना सेक्टेम्वर ७ तारिख २०१३ को हो । विहानको काम सकियो दिउसोको खाना खाएर काममा गएको थिएँ । काम गर्ने ठाउँमा तोरी मकै पेल्दा मेशिनमा लगाउने फित्ता हुन्छ । त्यसमा मैले काम गर्थेँ । रवर आउने ठाउँमा रवर रोकियो फित्ता मिलाउन थालेको मात्रै थिएँ, फित्ताले मेरो हात स्वात्तै तान्यो । म चिच्याएँ, साथीभाईहरुले मेशिन रोकिदिए । तर त्यतिबेला सम्म मेरो हात मेशिनले धुलोपिठो पारिसकेको रहेछ । 

कम्पनीले तत्कालै मलाई अस्पताल पुरयायो । घटना भएको २४ घण्टा पछाडि मात्रै अप्रेसन भयो । अप्रेसनगर्दा मेरो देव्रे हातको कुहिनाभन्दा माथिवाट काटिएछ । अप्रेसनपछि हात बिनाको म छाँगाबाट खसे जस्तै भएँ । अब मसँग गरि खाने हात थिएन । जहान परिवार सम्झेर बेस्सरी रोएँ । के सोचेँ मैले, के भयो अहिले भने जस्तै भयो । करीव ५ महिना अस्पतालमा बस्दा पनि घटना बारे परिवारलाई जानकारी दिइन । मेरा उपचारका लागि अस्पतालमा १७ हजार २ सय रिंगेट खर्च भएको भनेर साहुले भन्दैछ । मैले घरमा मैले नभने पनि साथीभाइले सुनाइसकेछन् । घरमा फोन गर्दा त उनीहरुले सबै बेलिबिस्तार पो लगाउन थाले । उताबाट खुरुक्क घर आउनु भनिरहेका छन् । तर म सजिलै घर जान सक्ने अवस्था छैन । अहिले कम्पनीले सजिलो काम दिएको छ । सकी नसकी त्यहि काम गरिरहेको छु । 

बिमाको लागि १८ हजार रिगेटको कागजमा सहिछाप गरिसकेको छु । पैसा आउछ केहि दिन कुर्नु पर्छ भनेर साहुले भनेको कारण त्यसको पर्खाइमा वसेको छु । दुर्घटना भईसकेपछि साहुले दिएको १५०० रिंगेटभन्दा एक पैसा पनि घरपरिवारमा पठाएको छैन । अचेल हात निकै दुख्नथालेको छ । आरोलोमा अनि छिटो छिटो हिड्दा असाध्यै दुख्छ । अव नेपाल गएपछि के गर्ने होला भनेर सोच्दैछु । कहिलेकाँहि त कुन दिनमा विदेश पसेछु । के दशा विग्रिएको दिनमाआएको रहेछु जस्तो लाग्छ । परिवारलाई सुख र खुसी दिन्छु भनेर आएका थिएँ, तर आफैं खुसी लुटाएर फर्किदैछु । सम्झिन्छु अब त गाउतिर अरुको हलो जोतेर खाने हात पनि मसँग छैन । जिन्दगीदेखि साँच्चैनै धेरै धेरैनै थाकेको छु, बरु मूर्दा बनेको भए श्रद्धान्जली दिन्थे होलन्, जिउदो मूर्दा बन्दा आफैप्रति वितृष्णा जागेर आउछ ।

No comments:

Post a Comment