Monday, June 2, 2014

"भारतमा नेपाली भाषा खतरामा छ"

photoगान्तोक (सिक्किम), जेष्ठ १९ - 'भारतमा नेपाली भाषा कति दिन बाँच्ला भन्ने डरको तरबारले हामीलाई सताइरहेको थियो,' सिक्किमका अगुवा कवि तथा प्राध्यापक डा. राजेन्द्र भण्डारीले भने, 'तर, नेपाली भाषा अझै जुगौं बाँच्ने रहेछ ।' देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाली साहित्य परिषद् सिक्किम र प्रेस क्लब सिक्किमद्वारा गान्तोकमा आइतबार आयोजित 'नेपाल-भारत साहित्य उत्सव' मा भण्डारीले नेपाली स्रष्टाहरूका सिर्जना सुनेपछि भने, 'भारतमा नेपाली भाषा खतरामा बाँचिरहेको छ । अब बचाउन सके नेपालले मात्रै सक्छ ।' 

भूगोल र राजनीतिले अलग बनाए पनि भाषा, संस्कृति र साहित्यका माध्यमले नेपाली र भारतका नेपालीभाषी सधैं नजिक रहेको भण्डारीको टिप्पणी रह्यो । नेपाली स्रष्टाहरू सिक्किम पुग्दा उनलाई मामाघरबाट दाजुभाइ आएको आभास भएछ । थपे, 'नेपाल साहित्य, भाषा र संस्कृतिको साझा भूमि हो । हाम्रो पवित्र तीर्थस्थल पनि ।' देवकोटा-लुसुन प्रतिष्ठानले भारतका नेपालीभाषीमाझ भाषासाहित्यको प्रवर्धनका लागि अभियान सुरु गरेको हो । नेपाल र सिक्किममा नेपाली भाषा, साहित्य र पत्रकारिता सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन प्रतिष्ठान र प्रेस क्लबबीच सम्झौता समेत भयो । 

प्रतिष्ठानका अध्यक्ष एवं समालोचक निनु चापागाईं र प्रेस क्लब सिक्किमका अध्यक्ष भीम राउतले सम्झौता पत्रमा हस्ताक्षर गरे । उत्सवकै मौका छोपी कवि हेमन्त विवशको कृति 'शैपालको आँगन' सार्वजनिक पनि गरियो । उत्सवमा नेपाली सर्जकहरू हरिगोविन्द लुइँटेल, विवश पोखरेल, भूपीन, सीमा आभास, हेमन्त विवश, राबत, हेमन यात्री, हेम प्रभाष, ज्योति जंगल, महेश पौडेल, कृष्ण प्रसाई र प्रतीक ढकालले कविता सुनाएका थिए । सिक्किमका तर्फबाट राजेन्द्र भण्डारी, प्रवीण राई जुमेली, सुधा एम राई, चक्रपाणि भट्टराई, कर्ण विरही, प्रवीण खालिङ, रवि रोदन लगायत गुन्जिएका थिए ।

No comments:

Post a Comment