Sunday, February 23, 2014

वार्ता टोलीका एक सदस्यका अनुसार कांग्रेस-एमालेका नेता मन्त्रालय बाँडफाँड

NCUML
काठमाडौं, फाल्गुन ११ - मन्त्रालय बाँडफाँडमा सहमति नजिक पुगेको बताएका कांग्रेस-एमालेका नेताहरु आन्तरिक छलफलमा निस्किएका छन् । बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट निस्केका नेताहरु आन्तरिक छलफलमा बसेका छन् । वार्ता टोलीका एक सदस्यका अनुसार सकभर आइतबार नै मन्त्रालय बाँडफाँडमा ठोस सहमति गर्ने तयारी भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । 'हामीले आफ्ना कुरा राख्यौं । 

वार्ता सकारात्मक भयो,' बैठकपछि सञ्चारकर्मीसँग उनले संक्षिप्त प्रतिक्रिया दिए, 'भोलि बिहान ७ बजे बस्नेगरी उठ्यौं ।' कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र रामशरण महतले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री सुशील कोइराला एमालेलाई गृहमन्त्रालय दिन सहमत भएपछि कांग्रेस-एमाले सत्तासाझेदारीमा तयार भएका हुन् । एमालेले गृहबाहेकका मन्त्रालयमा पनि ठोस सहमति गर्नुपर्ने अडान राखेपछि आइतबार नै मन्त्रिमण्डल विस्तार नहुने भएको छ । 

भद्र सहमतिलाई कांग्रेसबाट धोका पाएको निष्कर्षमा पुगेको एमाले केन्द्रीय कमिटीले सवै मन्त्रालयमा ठोस सहमति गर्न निर्देशन दिएको थियो । 'राजनीतिमा कतिपय विषय भद्र सहमतिबाट गर्नुपर्ने हुन्छ । कांग्रेसको बोलीको टुंगो देखिएन,' एमालेका एक नेताले भने, 'अब एउटा एउटा गरी सवै विषय टुंगो लागेपछि मात्र एमालेका मन्त्रीहरुले सपथ लिन्छन् ।' पूर्वसहमतिबमोजिम गृहमन्त्रालय नपाएको भन्दै एमालेले सरकारमा नजाने अडान लिएपछि प्रधानमन्त्री निर्वाचित भएको १४ दिनसम्म पनि कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।एमालेसँगको सहमतिमा खासै रुचि नदेखाएका प्रधानमन्त्रीलाई पार्टीभित्रै पनि शेरबहादुर देउवा समूहले मन्त्री नपठाएपछि थप दबाबमा थिए । 

कांग्रेसभित्रै पनि मन्त्रालय भागभण्डाको बिषयमा विवाद बढेको छ । सम्मानजनक स्थिति नपाए देउवाले आफू पक्षका नेतालाई मन्त्रिमण्डलमा सहभागी नगराउने चेतावनी दिएका छन् । माघ २७ गते भएको प्रधानमन्त्री निर्वाचनमा कोइरालालाई सघाउन ७ बुँदे सहमति गरेको एमालेले सहमति अनुरुप गृह मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी भएको छैन् । प्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरुले भने प्रधानमन्त्री पद्धतीलाई बलियो बनाउन गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले चलाउनुपर्ने तर्क गर्दै आएका थिए । 

No comments:

Post a Comment