Monday, February 24, 2014

यसरी पनि चल्छ त परिवार

Akhanda Bhandariमैले चिनेकी एउटी महिला छिन् । उनी एउटा राम्रो अफिसको राम्रै पदमा काम गर्छिन् । त्यही कमाइले परिवार पालेकी छन् । लोग्ने छ— चौबीसै घन्टा रक्सी खानुपर्ने । काम केही गर्दैन । हल्लिँदै हिँड्छ । दिउसै धोकेर फिटान भएपछि श्रीमतीलाई फोन गरेर सोध्छ, 'ऐ तँ कहाँ छेस् ? कोसँग सुतिरहेकी छेस् ?' उनी फोन कटाउँछिन् । काममै व्यस्त हुन्छिन् । डिस्टर्ब गर्दैै अर्को घन्टी बज्छ । उसैले फोन गरेको हुन्छ । प्रश्न उही सोध्छ । 

काम गर्नु कि उसको थाङ्ने प्रश्नको जवाफ दिएर बस्नु, हैरानै हुन्छिन् । घरमा स्कुलबाट फर्किएका बालबच्चाको फोन आउन थाल्छ, 'ममी, खाजा के खाने ?' फोनमै व्यवस्था मिलाउँछिन् । साँझ घर पुग्दा उनीहरू भोकाइसकेका हुन्छन् । लुगै नफेरी खाना बनाउँछिन् । घर सफा गर्छिन् । छोराछोरीको होमवर्क हेरिदिन्छिन् । अबेला हल्लिँदै ऊ आउँछ । 

गेटबाटै त्यही भाषा सुनिन थाल्छ, 'ऐ रन्डी, तँ दिनभरि कहाँ गइस् ? को-कोसँग सुतिस् ?' उसको कोशमा सुत्नु बाहेक कुनै शब्दै छैन । आफू बेगारी भएकाले अरूलाई पनि त्यही नजरले हेर्छ ऊ । आफू चरित्रहीन भएकाले सफा चरित्र त कसैको देख्दैन ऊ । त्यही भएर श्रीमतीमाथि अनावश्यक शंका गर्छ । त्यही श्रीमतीको कमाइले बाँच्छ । उनैको ब्यागबाट कतिखेर-कतिखेर चोरेर रक्सी खान पुर्‍याउँछ । कहिले धम्क्याएरै लिएर जान्छ । 

घरदेखि अफिससम्म, अफिसदेखि इज्जतसम्म धानेकी श्रीमतीलाई नै अनेक बात लाएर दुव्र्यवहार गर्छ । कपाल भुतल्याउँछ । कहिलेकाहीँ त कुटपिटै गर्छ । समाजको डरले सबै सहन्छिन् उनी । इज्जतका खातिर चुप लाग्छिन् उनी । ऊचाहिँ अनेक खाले फोहोरी फिल्म हेरेर रात बिताउँछ । बिहानभरि घुर्दै सुत्छ । उनी अफिस गएपछि कतिखेर उठ्छ । पकाइदिएको खाना खान्छ । थाल-भाँडा छरपस्ट छाडेर कतै हराउँछ । दिन ढल्कँदै गएपछि उनको फोनमा घन्टी बज्छ । 

उसकै हुन्छ । हिजोजस्तै उही प्रश्न सोध्छ, 'ऐ तँ कहाँ छेस् ? कोसँग सुतिरहेकी छेस् ?' यो एउटा उदाहरण हो । समाजमा खोज्दै जानुभयो भने यस्ता पीडित श्रीमतीहरू धेरै पाउनुहुन्छ । हो, नेपालमा महिलाले पनि प्रगति गर्दै गएका छन् । शिक्षा र अवसरमा अघि बढ्दै गएका छन् । तर पुरुष शासन तोड्नसकेका छैनन् । शिक्षित वा सक्षम भएर पनि साङ्लामा बाँधिनुपर्ने बाध्यता भएका धेरै छन् । समाज, परिवार, बालबच्चा अनेक बन्धनले अड्किन्छन् उनीहरू । 

त्यसो त वैवाहिक सम्बन्धमा कानुनले महिलालाई अधिकार नदिएको छैन । पुरुषले बहुविवाह गर्नु गैरकानुनी हुन्छ । महिलाले गर्दा कानुनै लाग्दैन । तर समस्याको जड यहाँ छ- कानुनले रोकेको बहुविवाह केटैबाट बढी भइरहेको छ । तिनका अधिकांश पीडितले सम्झौतामा जिन्दगी बिताइदिन्छन् । लोग्ने भनाउँदोलाई कानुनको कठघरामा उभ्याउन डराउँछन् । छाडेर अन्यत्र जान पनि सक्दैनन् । यस्ता घटनामा कमजोर महिलालाई नै मान्नुपर्छ । 

कतिपय पढालेखा र सुन्दर महिलासमेत सौता बनेर गइदिन्छन् । अर्की महिलाको जिन्दगी बर्बाद पार्न महिला नै अग्रसर हुन्छन् । त्यसमाथि कानुनी व्यवस्थालाई दुरुपयोग गर्दै कतिपय महिलाहरू 'छोडपत्र व्यवसाय' नै गर्न थालेका छन् । लोग्ने छाड्ने, अंश लिने । अर्कासँग बिहे गर्ने । उसलाई त्यसै गर्ने । यस्ता दृष्टान्तले पुरुषभित्रको शंकालु मनोविज्ञानलाई झन् मलजल पुर्‍याएको छ । अनि शंकै-शंकाले कति परिवार टुटेका छन् । कति धराप अवस्थामा टिकेका छन् । 

एउटी महिला सिलाइ-कटाइ व्यवसाय गर्छिन् । उनको लोग्ने मलेसियामा छ । उमेरदार सुन्दरी श्रीमती घरमा छाडेर जानुको पीडाले उसलाई सधैं भतभती पोल्छ । त्यसभन्दा धेरै श्रीमती कसैसँग गई कि भन्ने मनोरोगले थलै पार्छ । शंकालु स्वभाव न हो, श्रीमतीलाई बेला-बेला फोन गरेर सोध्छ, 'कहाँ छेस् ?' 'पसलमै छु' भन्ने जवाफ झरिनसक्दै उसले लुगा सिउने मेसिन चलाएर सुनाउन भन्छ । खटटटट पारिदिएपछि ऊ अलि शान्त हुन्छ । फेरि कुन बेला छड्के चेक गरिहाल्छ । उसरी नै मेसिन चलाइदिनुपर्छ । 

यस्तो अग्निपरीक्षा कति दिन दिइरहने उनले ? ऊ विदेशमा कोसँग कहाँ छ भन्ने श्रीमतीलाई कुनै हेक्का छैन । छिस्स शंका पनि छैन । वैदेशिक रोजगारमा गएका कतिपय परिवार बिग्रिएका छन् । त्यही उदाहरणले राम्रा सम्बन्धका परिवार पनि तनावपूर्ण बन्दै गएका छन् । समय गतिशील छ । मानिस चलायमान हुँदैमा सम्बन्धहरू भत्कन्छन् भन्नु हुँदैन । र त्यस्ता घटनामा महिलालाई मात्र दोष दिनु पनि हुँदैन । सम्बन्धविच्छेद गर्दा उल्टै अंशसमेत पाउने भएर पनि महिला त्यता सकेसम्म बल गर्दैनन् । 

किनकि नेपाली समाजको संरचना अर्कै छ । उदाहरण यो नै काफी छ- मातेर दुव्र्यहार गर्ने बेगारी लोग्नेकी कामकाजी श्रीमतीसमेत उसलाई छाड्न सक्दिनन् । महिलाको त्यही महानतालाई कतिपय पुरुषले दुरुपयोग गर्छन् । बुझ्नु जरुरी यो छ कि— महिला श्रीमतीमात्र होइन, आमा पनि हो । छोरी पनि हो । सबैलाई उही पवित्र नजरले हेर्‍यो भनेमात्र बिग्रँदो सामाजिक संरचना सन्तुलनमा आउन सक्छ । लोग्ने विदेश जान्छ, श्रीमतीसँगै तर्सिन्छ । श्रीमती काममा जान्छे, उहीसँग झस्किन्छ । यसरी पनि चल्छ त परिवार 

No comments:

Post a Comment