Wednesday, February 26, 2014

दिलशोभाको 'आमाघर' बाट ३१ बालबालिकाको उद्वार

Dilshova.jpgकाठमाडौ, फाल्गुन १४ - जिल्ला प्रशासन कार्यालय र क केन्द्रीय बालकल्याण समितिको पहलमा रवी भवनस्थित दिलशोभा श्रेष्ठको आमाघर बाट ३१ बालबालिकाको उद्धार गरिएको छ । आमाघर मा रहेका बालबालिकालाई न्युनतम आधारभूत आवश्यकतासमेत पूरा नगराई अत्यन्तै फोहोर दुर्गन्धित घरमा राखेको जानकारी पाएपछि बुधबार उद्धार गरिएको हो । 

बालबालिकालाई स्कुल नपठाई घरेलु काममा लगाउने, धर्मपुत्रपुत्रीका रुपमा विदेश पठाउने गरेको उजुरीहरु बिभिन्न निकायमा परेपछि जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण समितिले सुधार्न श्रेष्ठलाई निर्देशन दिएका थिए । 'श्रेष्ठले निर्देशन नमानेको, बालगृह सञ्चालनको स्वीकृतिसमेत नलिएको र बालबालिकालाई उच्च जोखिममा राखेकाले उद्दार गरेका हौं', समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुषालले भनिन् । 

श्रेष्ठले सञ्चालन गरिरहेको आमाघर मा असहाय बृद्धा र अनाथ बालबालिकालाई राखिने भनिएको छ । श्रेष्ठले आश्रय दिएका बालबालिकालाई घरेलु काममा पठाउने गरेको, बालबालिकालाई सडेगलेको खानेकुरा, दुषित पानी खुवाएको र बाहिरबाट आउने सहयोगको लेखाजोखा नभएको लगायत गुनासाहरु उल्लेख गर्दै बिभिन्न कार्यालयमा उजुरी परेका थिए ।  

प्रशासन कार्यालय, समिति लगायत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, मानब अधिकार आयोग, महिला तथा बालबालिका विभागमा उजुरी परेको थियो । 'यसैका आधारमा केही दिनदेखि अनुसन्धान गरेर उद्धार गरेका हौं,' भुषालले भनिन् । संस्थाको ०६८/६९ को प्रगति विवरणमा ४९ जना बालबालिका रहेको देखाइए पनि हाल संस्थामा ३८ जना मात्रै बालबालिका रहेको श्रेष्ठले बताउँदै आएकी थिइन् । 

मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर पनि उनले प्रमुख जिल्ला अधिकारीलाई ३८ जना बालबािलका छन् भनेकी थिइन् । तर, बुधबार उद्धार टोली आमाघर मा पुग्दा ३१ जना मात्रै बालबालिका भेटिए । '२८ बालक र ३ बालिका भेटिएका छन् बाँकी सात जना कहाँ गए भन्नेबारे श्रेष्ठलाई नै थाहा छैन', भुषालले भनिन्, 'बालिबालकाको भर्ना प्रक्रिया लगायत बिस्तृत विवरण केही रहेनछ ।' 

भुषालका अनुसार उद्दार गरिएका बालबालिकालाई केही समय आवास गृहमा राख्ने र उनीहरुका अविभावक र परिवार खोजेर परिवारमा पुर्नस्थापना गराउने, कोही नभएका बालबालिकालाई मात्र आश्रयस्थलमा राख्ने जानकारी दिइन् । श्रेष्ठलाई यौन दुव्र्यवहारको आरोप समेत लागेको छ ।  

No comments:

Post a Comment