Sunday, February 23, 2014

बोली फेर्ने यादवको बानीले हैरानी

Upendra Yadavकाठमाडौं, फाल्गुन ११ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दिउँसो रिपोर्टर्स क्लबमा तीन पार्टी एकीकरण तत्काल सम्भवै नभएको धारणा राखे । त्यसको केही घन्टामै तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई निवासमै भेटेर बोली फेरे । उनले ठाकुरसँगको भेटमा मिडियाले आफ्ना भनाइ बंग्याएको दाबी गर्दै आफू एकीकरणकै पक्षमा रहेको जिकिर गरे । बरु यादवले आफ्ना नातेदारकी छोरीको पार्टी कोषाध्यक्ष रेणु यादवका छोरासँग बिहे हुन लागेको र त्यसमा आफू व्यस्त हुनुपरेकाले फागुन अन्तिम सातासम्म पर्खन प्रस्ताव राखे । 

ठाकुर स्वयं पनि छोरीको बिहेमा व्यस्त छन् तर पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिन चाहेका छन् । तीन पार्टीका शीर्षनेताबीचको बैठकभित्र एकीकरणको पक्षमा घन्टौंसम्म वकालत गर्ने तर बाहिर आएर मिडियासँग एकीकरणकै विपक्षमा चर्का कुरा गर्ने फोरम अध्यक्ष यादवको बानी देखेर तमलोपा र सद्भावनाका पदाधिकारी हैरान छन् । कहिले घरायसी, कहिले पार्टीको काम भन्दै यादव पन्छिन थालेपछि तीन पार्टी एकीकरण पनि अवरुद्ध बनेको छ । अघिल्लो साता यादवकै व्यस्तताका कारण शीर्ष नेताबीच हुने भनिएको निणर्ायक बैठक रोकिएको थियो । 

बाहिर हल्ला भएजस्तो तत्काल एकीकरण सम्भव नभएको भनी शुक्रबार यादवले अभिव्यक्ति दिएपछि झन् दुई पार्टीका पदाधिकारी उनीसँग रुष्ट बनेका छन् । यादवले शुक्रबार पार्टी एकीकरण्ा हुन सिद्धान्त, लक्ष्य, राष्ट्रिय मद्दालाई हेर्ने दृष्टिकोण्ा र संगठनात्मक संरचनामा सहमति बन्नुपर्ने र ती विषयमा छलफल हुन बाँकी नै भएको बताएका थिए । तमलोपा र सद्भावनाका पदाधिकारीचाहिँ एकीकरण प्रक्रियाका सबैजसो विषयमा छलफल भइसकेको र अनौपचारिक सहमति भइसकेको दाबी गर्छन् । तमलोपाका प्रवक्ता तथा सभासद सर्वेन्द्रनाथ शुक्लले विभिन्न कारण देखाएर यादव पन्छिए पनि अरू मधेसी दललाई लिएर आफूहरू अघि बढ्न तयार रहेको बताए । 

तमलोपा र सद्भावनाका पदाधिकारीले यादवले दुईधारे कुरा गर्दै एकीकरण प्रक्रियालाई अवरोध पुर्‍याउने काम गरेको आरोप लगाएका छन् । 'उहाँ (यादव) नआए पनि हामीहरू अब रोकिँदैनौं,' शुक्लले कान्तिपुरसित भने, 'अरू दलहरूलाई लिएर अघि बढ्छौं ।' तमलोपा र सद्भावनाका अधिकारीले यादवले एकीकरणबारे धेरै समय नझुलाउन पनि यादवलाई आग्रह गरेका छन् । यादवका समस्या यादवले तत्कालै एकीकरण नचाहनुका पछि पनि कारणहरू छन् । समानुपातिक सभासद चयनका बेला सुरु भएको पार्टीभित्रको द्वन्द्व शान्त भएको छैन । अरूले छाडेपछि एक्लिएका बेला पुराना मधेसी नेता भरतविमल यादवलाई देखाएर यादवले पार्टीको शिर उच्च बनाए । 

तर, समानुपातिक सभासद चयनका बेला त्यागी र जिम्मेवार व्यक्तिभन्दा पैसावाललाई छानेकामा भरतविमल, अर्जुन थापा, प्रत्यक्ष चुनाव जितेका अभिषेकप्रताप शाहलगायत पार्टीको ठूलो जमात रुष्ट छन् । वरिष्ठ नेता भरतविमल र अध्यक्ष यादवबीच साढे दुई महिनादेखि बोलचालै बन्द छ । पुस दोस्रो सातापछि दुई नेताबीच भेटघाट र बोलचाल नै भएको छैन । भरतविमलले अध्यक्षले आफूलाई 'युज एन्ड थ्रो' गरेको महसुस गरेका छन् । एकीकरणको विपक्षमा रहेका पार्टीभित्रका जिम्मेवार व्यक्तिहरूलाई यादवले 'कन्भिन्स' गरी एकीकरणको औचित्यबारे पनि प्रस्ट पारेका छैनन् । 

कार्यसमिति भंग भएकाले पनि एकीकरणलगायत विभिन्न राजनीतिक मुद्दाबारे छलफल नभएको सभासद अभिषेकप्रताप शाह बताउँछन् । संसदीय समितिका पनि दुईवटा मात्रै बैठक बसेको छ । भरतविमल, अर्जुन थापा, शाह र केही सभासदहरूचाहिँ अहिले पार्टी सानो भयो भनेर एकीकरण गरिहाल्ने पक्षमा छैनन् बरु पार्टीलाई नै मजबुत बनाएर अघि बढाउन चाहन्छन् । अहिले एकीकरण भइहाले पनि पार्टीका अध्यक्ष र केही पदाधिकारीलाई बाहेक अरूलाई कुनै फाइदा नभएको उनीहरूको तर्क छ । 

बरु चुनावअघि नै मिलेर गएको भए फाइदा हुने उनीहरूको राय छ । 'चुनावअघि मिलेर जाउँ भन्दा हाम्रा कुरालाई प्राथमिकतामा राखिएन,' शाहले शनिबार कान्तिपुरसित भने, 'अहिले एकीकरण गर्नुको कुनै अर्थ छैन ।' एकीकरणमा सहमति नजनाइहाल्नुका पछाडिको अर्को कारण हो, यादव आफैं सर्बेसर्बा -वान म्यान शो) चाहन्छन् । आफैं सर्बेसर्बा भएर पार्टी चलाउने यादवको पुरानै बानी हो । विगतमा त्यही विवादले गच्छदारले पार्टी फुटाएका थिए । अहिले पनि तमलोपा र सद्भावनासँग एकीकरण गरे एक्लै हाबी हुन सक्ने अवस्था छैन । 

तमलोपा अध्यक्ष ठाकुर ज्येष्ठ र निष्ठावान भएकाले उनलाई लतारेर एक्लै पार्टी हाँक्ने अवसर प्राप्त हुने छैन । यादवको आनीबानी राम्रैसँग बुझेको तमलोपाले पनि ठाकुरलाई अध्यक्ष मानेर अघि बढ्न यादव र महतोलाई प्रस्ताव गरेको थियो । त्यसो हुँदा यादव र महतो दुवैजना समान हैसियतको कार्यकारी अध्यक्ष रहने भनिएको थियो । तर यादवले त्यो प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् । चुनावमा मिलेर जान नसक्दा भोग्नुपरेको परिणामका कारण मधेसी दलले एकीकरण चाहेका थिए । 

मधेस विश्लेषक तुलानारायण साह रणनीतिक उद्देश्य पूरा गर्न एकीकरणको तानाबुना बुनिए पनि तत्काल त्यसको औचित्य समाप्त भएको तर्क गर्छन् । 'चुनावमा मिलेर नजाँदा मधेसी जनताले औकात देखाइदिएपछि नेतृत्वमा पराजित मानसिकता हाबी भयो,' साहले कान्तिपुरसित भने, 'पार्टी बनाउनेभन्दा पनि संख्या देखाएर रणनीतिक लाभ उठाउन खोजिएको थियो, त्यो तत्काल पूरा नहुने भएपछि सबै प्रक्रियामा ब्रेक लाग्यो ।' उनका बुझाइमा समानुपातिक सभासद चयनका क्रममा सबै दलमा आएको विवादलाई अन्तैतिर मोड्न पनि मधेसी दलले एकीकरणलाई मुद्दा बनाएका हुन् । 

No comments:

Post a Comment