Saturday, August 2, 2014

गाउँले डनको आक्रमणबाट नाबालक सहित ९ जना घाइते उमाकान्त खनाल

झापाः गाउँले डनको आक्रमणबाट झापाको पाँचगाछीमा २ वर्षीय नाबालक सहित ९ जना सख्त घाइते भएका छन्। गएको मंगलबार राति स्थानीयबासी बिना कारण गाउँले डनको कुटाइबाट घाइते भएको घटना शुक्रबार मात्रै सार्वजनिक भएको हो। घटना सार्वजनिक गरे कसैलाई नछाड्ने धम्की दिएकाले पीडित न्यायका लागि प्रशासन समक्ष आउन सकेका थिएनन्। स्थानीय अगुवाले पीडितलाई साथ दिएपछि ४८ घन्टापछि मात्र घटना सार्वजनिक गर्दै न्यायका लागि पीडित प्रहरी समक्ष आएका हुन्। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पाँचगाछी १ का ५१ वर्षिय तेजबाहादुर कार्की , ५६ बर्षिय डिल्लीप्रसाद सुवेदी, २ बर्षिय शेखर सुवेदी, ४७ बर्षिय जानुका कार्की, ४६ बर्षिय चन्द्रकुमार कार्की , २२ बर्षिया सुस्मा कार्की, १४ बर्षिया सुनिता कार्की, १६ बर्षिया दुर्गा सुवेदी र २८ बर्षिय उमेश कार्की डनको कुटाईबाट घाइते भएका हुन । 

उनीहरुको स्थानीय मेडिकल पसलमा उपचार भएको स्थानीय राजु श्रेष्ठले बताए। घाइते मध्ये २ वर्षीय बालक शेखर र चन्द्र कुमारी कार्कीको अवस्था गम्भीर छ। घाइते बालकको नाक र आँखामा गम्भीर चोट लागेको छ। गाँउलेका अनुसार मदिराले लठ्ठ भएका डनको समूहले ति अवोध बालकलाई बाँसको डण्डी प्रहार गरेका थिए। उनलाई थप उपचारका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको अर्का घाईते तेजवहादुर कार्कीले बताए । प्रहरीले झापा धरमपुर २ वस्ने १८ बर्षिय जीवन भुजेल , १९ बर्षिय किरण तामाङ्ग, १९ बर्षिय मिलन तामाङ्ग , २१ बर्षिय प्रदिप तामाङ्ग , १९ बर्षिय रवीन लिम्बू , २८ बर्षिय दिलवाहादुर घिसिङ्ग र २७ बर्षिय संजिव लिम्बूले गाउँले माथि अन्धाधुन्द कुटपिट गरेको बताएको छ। ‘

गर्मीका कारण बाटोमा हावाको खोजी गर्दै बसेका थियौ, उनीहरु आएर जथाभावी कुटपीट गर्न थाले,’ घाईते तेजवाहादुरले भने । कुनै गल्ती नै नगरी हल्ली खल्ली गर्दै हातमा बोकेका बाँसका डण्डीले प्रहार गरेको घाइतेले बताए । घाईतेले फेरी कुटाइ खाने त्रासका कारण नाम सार्वजनिक चाहिरहेका थिएनन्। प्रहरीले कुटपिट गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दहालले बताए । तर, आक्रमण गर्नेहरु फरार रहेका कारण पक्राउ पर्न सकेका छैनन्। गाउँलेलाई कुटपिट गरेको अघिल्लो दिन पनि पाँचगाछी १ मा निर्माणाधिन पुलमा काम गर्ने आधा दर्जन निर्माण मजदुर पनि उनीहरुको आक्रमणमा परेका स्थानीयबासी बताउँछन्।

No comments:

Post a Comment