
गृह मन्त्रालय आपत्कालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान माइकिङमार्फत् आग्रह गरिरहेको छ ।
१ सय ५० मिटरमाथिसम्म जमेर ताल बनेको पानीले जुरेका दर्जनौं घर र बाह्रबिसे बजारसमेत डुबाउन थालेको छ । डुवानमा परेकालाई सेना, प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ सारिँदै छ ।
पानीले सडक डुबाउँदा राजमार्गमा चल्ने सबै सवारी साधन दोलालघाटबाटै काठमाडौंतर्फ फर्काइएको छ । उद्धारका लागि पैदल मार्ग भएर सुरक्षाकर्मी जाने अवस्था नभएपछि काठमाडौंबाट सेनाको हेलिकप्टरसहितको टोली घटनास्थलतर्फ गएको छ ।
पहिरोका कारण सानीमा हाइड्रोपावरको साढे २ मेगावाटको सुनकोशी जलबिद्युत परियोजना पनि डुवानमा परेको छ ।

आसपासका लामोसाँघु, खाडीचौर, सुकुटे, चेहेरे लगायत २० किलोमिटर आसपासका बासिन्दा बजार छाडेर डाँडामा गएर बसेका छन् ।
नदीको बहाव एक्कासी फुटेमा यी सबै बजार डुब्न सक्ने खतरामा छन् । विहान तीन बजेदेखि थुनिएको नदी खुलाउन नसक्दा लगातार पानीको स्तर बढ्दै गएको छ । ती क्षेत्रमा अहिले बिजुली र टेलिफोन सेवासमेत अवरुद्ध बनेको छ । सुनकोशी थुनिएर बाटो बन्द हुँदा सिन्धुपाल्चोकलगायत दोलखा, रामेछाप, सिन्धुली र काभ्रेका सर्वसाधारण समेत प्रभावित बनेका छन् ।
यता, गृह मन्त्रालयले थुनिएको ताल बनेको फुटेर कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सूचना जारी गर्दै प्रभावितलाई सुरक्षित स्थानतर्फ जाने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।




No comments:
Post a Comment